ताजा समाचार

यी हुन्, एमालेबाट समानुपातिक सांसद् बन्न लागेका रामकुमारी देखि नवीना हुँदै राधा ज्ञवालीसम्म ?


काठमाडौं, ४ पुस । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिट जितेर पहिलो पार्टीको बनेको नेकपा (एमाले) समानुपातिकतर्फ पनि ठूलो दल बनेको छ । समानुपातिकमा एमालेले ४१ सिट जित्दै पहिलो दल बनेको हो । १ सय १० सिटमध्ये एमालेले ४१ र नेपाली कांग्रेसले ४० सिट जितेको छ ।

यससँगै प्रतिनिधिसभाको २ सय ७५ सिटमध्ये एमालेले १ सय २१ सिट पाउने भएको छ । एमालेको तर्फबाट प्रत्यक्षबाट दुई जना मात्र महिला सांसद बनेका छन् । ८० सिटमा एमालेले जम्मा दुई जना मात्र महिला सांसद् पाएपछि अब भने समानुपातिकबाट महिला कोटा पुर्‍याउनुपर्ने हुन्छ । ४ जनामात्र पुरुष सांसद् समानुपातिकमा सांसद् बन्न पाउने भएका छन् ।

संविधानको प्रावधानअनुसार हरेक पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर ३३ प्रतिशत महिलालाई पठाउनुपर्ने हुन्छ । प्रत्यक्षमा एमालेले जितेको ८० सिटमध्ये दुई जनामात्रै महिला सांसद् बन्न सफल भएका छन् । १ सय २१ को ३३ प्रतिशत ४० हुन्छ । समानुपातिकका ४१ मध्ये ३७ सिटमा एमालेले महिला पठाउनुपर्ने हुन्छ ।

एमालेले समानुपातिक सूचीमा बुझाएको नाममा पुरुषहरुको नाम अग्रपंक्तिमा छ । विजय सुब्बाको नाम पहिलो नम्बरमा छ भने दोस्रोमा खगेन्द्र राईको छ । त्यस्तै केशवलाल श्रेष्ठ, अइन्द्रसुन्दर नेम्वाङ, चुडादेवसिंह लामा घिसिङ, तीलककुमार मैयाङ्बो, एकबहादुर राना, मणि लिम्बु, सोनाम ग्याल्जेन शेर्पा, झगबहादुर थापा मगरलगायतको नाम अगाडि छ । तर, यीमध्ये बढीमा २ जनामात्र सांसद् बन्न पाउनेछन् ।

महिलाहरुबाट थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नवीना लामा, शान्तिमाया तामाङ, कुमारी मेचेलगायतको नाम अगाडि छ । जसअनुसार उनीहरु समानुपातिकतर्फबाट सांसद् बन्ने लगभग पक्कापक्की जस्तै छ । त्यस्तै विनादेवी बुढाथोकी मगर, रणकुमारी मगर, माइली तामाङ, मेनचुङ लामा, कमला थापा मगर, दीलकुमारी राई, तारादेवी गुरुङको नाम पनि समानुपातिकको अग्रपंक्तिमा छ ।

राधा ज्ञवाली, सीता गिरी ओली, निरु पाल, गोमा देवकोटा, बिन्दा पाण्डेलगायतको नाम भने पछाडि छ । निर्वाचन आयोगले अगाडि नाम भएकैबाट नाम छान्नुपर्ने बताएकाले त्यसअनुरुप छान्दा पछाडि नाम रहेका कसैको पनि सम्भावना नहुने देखिएको छ । एमालले समानुपातिकमा ४१ सिट पाएकाले धेरै महिलाहरु सांसद् बन्न पाउनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org