ताजा समाचार

वाम सरकार गठनको तयारीसँगै चिनियाँ राष्ट्रपति सी नेपाल आउने पक्का

काठमाडौं, ४ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने भएका छन् । वाम गठबन्धनको नेतृत्वमा स्थीर सरकार बन्ने निश्चित भएसँगै चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने भएका हुन् । त्यसको लागि प्रारम्भिक तयारी सुरु भएको छ ।

आगामी मार्चमा सी विदेश भ्रमणमा निस्किँदै छन् । सोही बेला उनी नेपाल पनि आउने सम्भावना छ । चीनको परराष्ट्र मन्त्रालयले सीले भ्रमण गर्ने देशहरुको सूचीमा नेपाललाई पनि राखेको जानकारी प्राप्त भएको भन्दै वाम गठबन्धनका शीर्ष नेताहरु उत्साहित छन् ।

माओवादी केन्द्रका एक शीर्ष नेताले पनि चिनियाँ राष्ट्रपति सी आगामी मार्चमा नेपाल आउने तयारीमा रहेकाले आफूहरु त्यसको आन्तरिक तयारीमा लागेको बताए । ति नेताले भने, ‘आगामी मार्चमा सी नेपाल आउने प्रारम्भिक तयारी भइरहेको जानकारी चिनियाँ पक्षले हामीलाई गराएको छ । हामी पनि आवश्यक तयारीमा छौं ।’

चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेतृत्वबाट नेपाल भ्रमण भएमा यसले राजनीतिक र कुटनीतिक वृत्तमा ठूलो अर्थ राख्ने भन्दै वाम गठबन्धन पनि भ्रमणलाई भव्यरुपमा सफल बनाउने वातावरण निर्माणका लागि सक्रिय छ ।प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा चिनियाँ राष्ट्रपति सी नेपाल आउने तयारी थियो । तर, राजनीतिक अस्थीरतालाई कारण देखाउँदै भ्रमण रद्ध भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org