ताजा समाचार

वाम गठबन्धनलाई प्रकाशमानको झटारो, ‘बिहे नगरी बच्चा जन्माउन सकिन्छ ?’

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार गठनका विषयमा वाम गठबन्धनलाई झटारो हानेका छन् । देउवा सरकार सत्ता लम्ब्याउन लागिपरेको बताउँदै आएको वाम गठबन्धनलाई नेता सिंहले झटारो हानेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा बुधबार आयोजित कार्यक्रममा नेता सिंहले संघीय संसदविना वाम गठबन्धनले सरकार बनाउँछु भन्नु बिहे नगरी बच्चा जन्माउछु भनेजस्तै भएको टिप्पणी गरेका हुन् । कांग्रेस सरकारमा रहिरहन नचाहेको भन्दै उनले कानुनी प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए ।

नेता सिंहले प्रदेश र प्रतिनिधिसभा चुनाव अगाडि नै सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण गरेर राष्ट्रपतिले राजनीतिक निकासको वातावरण बनाइदिनुपर्नेमा जोड दिए । ‘सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् । यो सबै गलत हो,’ उनले भने, ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन अगाडि लगेको हो । त्यसलाई राष्ट्रपतिले जारी गर्नेवित्तिकै एउटा निकास निस्कन्छ ।’

कम्युनिष्ट पार्टीहरूले भएका कुरालाई पनि ढाकछोप गरेको भन्दै कांग्रेस नेता सिंहले भने, ‘विवाह नगरी बच्चा जन्मिन्छ भन्नुजस्तै हो संसदविनै एमालेले सरकार बनाउँछु भन्नु । संघीय संसद नआइकन सरकार गठन हुन सक्छ ? सक्दैन ।’

सरकारमा विनाविभागीय मन्त्री बनेर बसेको माओवादीले नै कांग्रेसलाई नैतिकताको पाठ पढाएको भन्दै सिंहले आश्चर्य व्यक्त गरे । ‘सरकारमा विनाविभागीय मन्त्री छन् । चुनावमा जित्न पाएपछि नैतिकता र जिम्मेवारी नै भुल्छन् । त्यस्ता दलले कांग्रेसलाई नैतिकता सिकाउँछन्,’ उनले भने, ‘कांग्रेस सत्तामा बसिरहन चाहेको छैन ।’

सत्ताको नेतृत्व गर्नेहरूले राजनीतिक र संवैधानिक संस्कारलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘आफै अवरोध गर्ने । अनि कांग्रेसलाई दोष दिने ?’ नेता सिंहले भने, ‘नेताहरूमा घमण्ड पलाउनु हुँदैन ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org