ताजा समाचार

नवनिर्वाचित सांसद् सिलवालविरुद्ध कीर्ते मुद्दामा जाहेरी दर्ता, पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं, ५ पुस । पूर्व डीआईजी एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवराज सिलवालविरद्ध कीर्ते मुद्दामा जाहेरी दर्ता गरिएको छ । सर्वोच्च अदालतको आदेशपछि सिलवालविरुद्ध अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरिएको हो ।

परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जाहेरी दर्ता भएको पुष्टि गर्दै भने, ‘अनुसन्धान सुुरु भएको छ ।’ सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि तत्कालीन डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएका थिए ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पाद मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनाएको थियो । त्यसमा असन्तुष्ट सिलवाल फेरि सर्वोच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार गर्‍यो ।

आईजीपी बन्न नपाएपछि एमाले प्रवेश गरेका सिलवाल ललितपुर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । उनी सांसद बन्न पाउँदा नपाउँदै सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक गर्‍यो, जसमा सिलवालले बुझाएको र लोकसेवाबाट प्राप्त कार्यसम्पादन मूल्यांकनमा फरक फरक अंक देखिएको भन्दै यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न आदेश दिइएको थियो ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि प्रहरीले सिलवालमाथि सरकारी कागज कीर्तेमा जाहेरी गर्दा गर्दै अनुसन्धान थालेको हो । अब सिलवाल पक्राउ परेमा २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनु पर्नेछ र त्यसपछि मुद्दा दायर हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org