ताजा समाचार

माओवादी केन्द्रले पाउने सबै समानुपातिकमा महिला, पुरुष नेता नपरेपछि पार्टीभित्र खैलाबैला

काठमाडौं, ६ पुस । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रलाई समानुपातिक तर्फ सबै महिलालाई मात्र सांसद् बनाउनुपर्ने भएको छ । अनिर्वाय रुपमा ३३ प्रतिशत महिला संसद्मा अनिर्वाय गराउनुपर्ने कानूनी बाध्यताका कारण माओवादीले १५ महिला समानुपातिकबाट पुर्याउनुपर्ने छ । यस्तो अवस्थामा समानुपातिक तर्फ माओवादीले पाएको १५ सीटमा पुरुष पर्ने सम्भावना अत्यन्तै न्यून छ । अहिले प्रतिनिधिसभातर्फ समानुपातिकको सिट संख्या सार्वजनिक भएसँगै माओवादीमा खैलाबैला मच्चिएको छ ।

अनिवार्य रुपमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने भएका कारण समानुपातिकमा पुरुषलाई स्थान छैन । माओवादीले प्रत्यक्षबाट ३६ सिट जितेको छ भने समानुपातिकमा १५ सिट पाउनेछ । यस्तोमा १८ महिला हुनु आवश्यक छ । तर, प्रत्यक्षमा ३ महिलामात्र निर्वाचित भएका छन् । अब १८ पुर्याउन समानुपातिकबाट १५ महिला छान्नुपर्ने हुन्छ । यस्तोमा समानुपातिकमा रहेका पुरुष ‘हेभिवेट’ नेता यतिबेला संसद बन्न लबिङमा छन् । तर, जसले जति लबिङ गरेपनि दुईको नाममा कुनै विवाद छैन ।

माओवादीको समानुपातिक सूचीमा धेरैको नाम भए पनि यसपटक निर्वाचन आयोगको नियमावलीअनुसार रोलक्रमका आधारमा समानुपातिक उम्मेदवार चुनिनेछन् । यसो भएमा दुई पुरुषमा माओवादी नेता हितराज पाण्डे र मणी थापा रोलक्रममा सबैभन्दा अगाडि छन् । दुई सिटमा उनीहरु नै सांसद बनेर जाने पक्कापक्की भएको छ।

समानुपातिकबाट दुई पुरुष मात्र सांसद बन्ने भएपछि सबैभन्दा धेरै पीडा पार्टी एकीकरणमार्फत माओवादीमा मिसिएर समानुपातिक सूचीमा रहेका दुई नेतालाई परेको छ । जनजागरण पार्टीका लोकमणी ढकाल र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह चुनाव अघि माओवादीसँग एकता गरेर समानुपातिक सूचीमा रहेका थिए । यी दुवै एकअघि आ–आफ्नो पार्टीबाट सांसद थिए । तर, अब रोलक्रमका आधारमा पुरुषतर्फ तेस्रो र चौथो नम्बरमा रहेका उनीहरुलाई सांसद बन्न मुस्किल छ ।

अर्कोतर्फ हितराज र मणीलाई छाडेर यी दुई सांसद बन्न सक्ने अवस्था पनि छैन । एमालेसँग पार्टी एकता भएपछि अब उनीहरुलाई पार्टी अध्यक्ष प्रचण्डले कसरी समायोजना गर्छन् भन्ने धेरैमा छ । त्यसो त पार्टी एकताप्रति असन्तुष्ट एक पक्षले उनीहरुलाई यतिबेला उक्साइरहेको छ । माओवादीका आएर ‘हाता लाग्यो शुन्य’ को अवस्था सिर्जना भएको भन्दै सो पक्षले अब एमाले–माओवादी एकतापछि झन् अस्तित्व नै नरहने डर देखाउँदै छ । तर, ढकाल र सिंह पर्ख र हेरको स्थितिमा छन् ।

त्यस्तै समानुपातिक सूचीको रोलक्रममा पुरुषतर्फ पाचौँ, छैठौँ र सातौँ नम्बरमा रहेका प्रचण्डका आफन्तसमेत रहेका नारायण दाहाल, कुमार पौडेल र चुडामणी खड्का समेत पीडित हुने भएका छन् । त्यस्तै समानुपातिकमा रहेर चर्चा कमाएका माओवादी नेता ल्ह्यारक्यार लामाको सांसद पदसमेत धरापमा परेको छ । लामासँगै समानुपातिकमा परेपछि धेरैको आशा जागेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org