ताजा समाचार

‘बिजुली माफिया’ सल्बलाएको भन्दै कुलमानले निकाले यस्तो विज्ञप्ती

काठमाडौं, ६ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले देशमा घोषित तथा अघोषित दुवै खालको लोडसेडिङ हटिसकेको बताएका छन् । केही दिनयता प्राविधिक कारणले फाट्टफुट्ट बत्ती गएकोमा त्यसलाई गलत अर्थ लगाउँदै सामाजिक सञ्जालमा लोडसेडिङ हुन लागेको भनेर गलत प्रचार गरिएको भन्दै प्राधिकरणले यसमा आपत्ति जनाएको छ ।

औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित÷अघोषितरुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्रष्ट पारेका हुन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यकारी निर्देशक घिसिङले भनेका छन्, ‘प्राविधिक समस्याका कारण कहिंकतै केहीबेर विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको छ । यसका साथै आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकहरुकोमागलाई समेत मध्यनजर गरी फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको छ ।’

हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर विद्युत माग बढ्ने हुँदा उपलब्ध सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्राधिकरण प्रतिबद्ध रहेको पनि उनले जनाएका छन् । त्यस्तै उक्त चुनौतीको सामना गरी आम ग्राहकलाई उज्यालो दिन गत वर्षझै यस वर्षको हिउँदमा लोडसेडिङ न्यूनीकरण गर्न प्राधिकरणले विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर त्यसलाई दृढतापूर्वक कार्यान्वयन गरिरहेको समेत बताएका छन् ।

यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ भने नपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिव तीन घण्टा विद्युत कटौती गर्नु परेको विद्युत प्राधिकरणले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org