ताजा समाचार

वीरगञ्ज मेडिकल कलेजबाट तीन दिनकी सुत्केरी नै गायब, खोजविनका लागी प्रहरीमा उजुरी

वीरगञ्ज, ७ पुस । अस्पत्तालबाट नवजात शिशु हराएको घटना पटक पटक बाहिरिने गरेका छन् । तर यो पटक भने वीरगञ्ज नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट एक सुत्केरी आमा नै गायब भएकी छन् ।

सर्लाही कविलास नगरपालिका वडा नम्बर २ पिपरियाका कृष्णदेव नन्दन मण्डलकी पत्नी ललिता देवी अस्पत्तालबाटै गायब भएकी हुन् । ललिता बुधवार राति ११ बजेदेखि बेपत्ता भएपछि पर्सा प्रहरीमा वेपत्ता सुत्केरीका पति मण्डलले उजुरी दिएका छन् ।

ललिता पुस २ गते बिहान ८ बजे प्रसुतीको लागि मेडिकल कलेजमा भर्ना भएकी थिइन्। ललिताले नर्मल डिलिभरीबाट बच्चा जन्माउन नसकेपछि चिकित्सकले सिजेरियन अप्रेशन गरी पेटबाट बच्चा निकालेका थिए।

छोरी जन्माएकी ललिता पोस्ट अप्रेशन वार्डमा थिइन्। बच्चा एक दिन सघन उपचार कक्षमा राखियो। तर बुधबार बच्चालाई एनआईसियुबाट निकालेर आमासँगै जनरल वार्डमा सारिएको थियो। बुधबार राति ८ बजे बच्चालाई ललिताले दुध पनि खुवाइन्। तर ११ बजे बच्चालाई पुनः दुध खुवाउन खोज्दा ललिता बेडमा नरहेको ललिताकी सासु तेतरी देवीले बताइन्।

पोस्ट अप्रेशन कक्षमा बिरामी र बच्चा मात्रै थिए। कुरुवाहरु बाहिर कुरिरहेको अवस्थामा राति ललिता गायब भएपछि उनी बेपत्ता भएको खबर परिवारसहित अस्पताल प्रशासन समक्ष पुगेको थियो। घटनामा अस्पतालका नर्स र सुरक्षागार्डको लापारबाही भएको बेपत्ता सुत्केरी ललिताका पति कृष्णदेवको आरोप छ।

प्रहरीमा उजुरी परेपछि बेपत्ता सुत्केरीको खोजविन तीव्र पारिएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए । नवजात शिशुको सुत्केरी आमा गायब भएपछि शिशुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सक्ने सम्भावना रहेको चिकित्सकको भनाइ छ। अस्पत्तालबाट सुत्केरी नै गायब भएपछि अन्य महिला समेत डराएका छन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org