ताजा समाचार

कांग्रेसको नेतृत्व फेरी कोइराला परिवारमा जाने संकेत, शेखरले गरे सभापतिको दाबी

काठमाडौं, ७ पुस । चुनावमा पार्टीले नराम्रोसँग पराजय भोगेको नेपाल कांग्रेसभित्र नेतृत्व परिवर्तनको चर्को बहस सुरु भएको छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि नेतृत्व परिवर्तनको कुरा जोडतोडले उठेको हो । नेतृत्व परिवर्तन गर्ने पक्षमा चुनाव जितेर आएका युवा तथा चर्चित नेताहरु रहेका छन् ।

नेपाली कांग्रेसभित्र यतिबेला गगन थापा, धनराज गुरुङ, डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु नेतृत्व परिवर्तनको पक्षमा छन् । चुनाव जितेलगत्तै चर्चित युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा दिएर अबको नेृतत्व युवाको हातमा सुम्पिनुपर्ने बताएका थिए । पार्टी सभापतिले राजीनामा नदिए हस्तक्षेप गरेर अगाडि बढ्ने बताएका थिए ।

त्यस्तै नेतृत्व कोइराला परिवारभन्दा अरुले चलाउन नसक्ने दाबी गर्दै आएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि देउवाले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा एमाले उम्मेदवार लालबाबु पण्डितसँग पराजित भएका शेखरले आफू पार्टीको केन्द्रीय सभापतिको आकांक्षी भएको घोषणा गरेका छन्।

कोइराला निवासमा शुक्रबार बिहान नेपाल प्रेस युनियनसमर्थक सञ्चारकर्मीसित केन्द्रीय सदस्य कोइरालाले आफू केन्द्रीय सभापति हुन इच्छुक रहेको बताएका हुन्। ‘राजनीतिमा लाग्ने कसलाई इच्छा हुँदैन र ?’, पत्रकारसित कोइरालाले भने, ‘पार्टीको सभापति हुने इच्छा मलाई छ ।’

शेखरको भनाइ थियो, ‘तर यसका लागि विधि र प्रक्रिया पुग्नुपर्छ। पहिले त तुरुन्त केन्द्रीय समितिको बैठक बस्नुपर्यो। केन्द्रीय समितिको बैठकले महासमितिको बैठकको निधो गर्छ। महासमितिमा पार्टीको ‘अर्ली महाधिवेशन’ गर्ने निर्णय गरेर त्यही महाधिवेशनमा नेतृत्वको चयन गर्नुपर्छ।’

केन्द्रीय समितिको बैठक एक हप्ताभित्र नबोलाए यसका लागि हस्ताक्षर सङ्कलन गरिने चेतावनी डाक्टर शेखरले दिए। उनले भने, ‘केन्द्रीय समितिको बैठक बोलाउन किन ढिला गरिएको हो मैले बुझेको छैन। तुरुन्त बोलाउनु पर्छ भत्रे हाम्रो माग छ ।’

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org