ताजा समाचार

पर्साको ठोरी पुग्दै प्रचण्डले भने, ‘अब ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भयो’

पर्सा, १० पुस । एमाले अध्यक्ष केपी ओली एकएक उत्तरी नाका रसुवा पुगेका थिए । आफु्नो कोर टिमलाई साथमा लिएर चिनियाँ नाका रसुवागढी पुगेका थिए । वाम एकताको तयारी भईरहेका बेला ओली चिनियाँ नाका पुगेपछि त्यसलाई निकै महत्वका साथ हेरिएको थियो ।

नेपालमा भारतीय नाकाबन्दी बेला चीनबाट सामान ल्याउन उक्त नाका निकै प्रभावकारी बनेको थियो । त्यस्तै वाम गठबन्धनका अर्का सहयात्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला तराईको नाका पर्साको ठोरी पुगेका छन् । नाकाबन्दीका बेला केरुङ–रसुवागढी नाकाले जस्तै ठोरी नाकाले भारतीय नाकाबन्दीको असर कम गर्न भूमिका खेलेको थियो।

आफूलाई मतदान गरेर विजय गराउने मतदातालाई धन्यवाद दिने घरदैलोको क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार चितवन–३ अन्तर्गतको बाँदरझुला हुँदै सीमा जोडिएको पर्साको ठोरी पुगेका हुन्।

अघिल्लो हप्ता रसुवा पुगेका ओलीले छिट्टै नै चिनिया रेल त्यतैबाट आउने बताएका थिए। ठोरी पुगेर प्रचण्डले पनि त्यही सन्दर्भ झिकेका थिए । ‘चुनावको विजय जुलुसका लागी केपी ओली रसुवा जानुभयो, म यहाँ आएँ’ उनले भने, ‘अब ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भयो।’

पर्सामा परेपनि चितवनको माडीसँग सीमा जोडिएको ठोरी गाउँपालिकाले आफूलाई प्रदेश–२ मा होइन, चितवनसमेत समावेश भएको प्रदेश–३ मा राखिनुपर्ने लविङ गर्दै आएको छ। ठोरीमा पुगेर प्रचण्डले वामगठबन्धनको सरकार बनेपछि ठोरीलाई प्रदेश–३ मा पार्ने प्रतिबद्दता व्यक्त गरेका छन्।

ठोरी गाउँपालिकाले आज विहान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रचण्डले भने, ‘ठोरीलाई प्रदेश–३ मा राख्ने सहमति भएको हो। तर मधेश आन्दोलनका कारण त्यो सम्भव भएन। अब नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता ठोरीलाई प्रदेश–३ मा पार्ने हुन्छ।’

त्यस अवसरमा उनले ठोरी–केरुङ मार्ग छिट्टै निर्माण गरिने दावी समेत गरे। ‘त्रिदेशीय साझेदारीका लागी यो मार्ग निकै महत्वपूर्ण छ,यो निकै छोटो र उत्कृष्ट मार्ग बन्ने छ’ प्रचण्डले भने, नाकाबन्दीका बेला महत्वपूर्ण भूमिका खेलेको ठोरी नाकालाई व्यवस्थित बनाइनेछ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org