ताजा समाचार

महाकालीमा पुल निर्माणको काम तीव्र गतिमा, मुआब्जाका लागि १० करोड

भीमदत्तनगर, ११ पुस । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी सुरु भएको छ । गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात् पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन कार्य तीव्र गतिमा गरिरहेको छ ।

निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा क्रसर जडान, श्रमिकका लागि आवास, कार्यालय स्थापनाका साथै बालुवा÷ढुंगा र गिट्टी संकलन गरेको छ । ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म निर्माण हुने चार लेनको सडकको सर्वे सकिएर नापीको काम सुरुवातको चरणमा रहेको महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए ।

“तीन साताभित्रमा सडकको नापीको काम सकिएपछि जग्गा मुआब्जाको काम शुरु हुन्छ”– योजना प्रमुख भण्डारीले भने, “निर्माण कम्पनीले पनि साइडमा विभिन्न प्लान्ट र क्याम्प स्थापना गरिसकेको छ ।” मुआब्जाका लागि सरकारले चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । सडकमा पर्ने जग्गाको मुआब्जाका लागि सो रकम विनियोजन गरिएको हो । मुआब्जा वितरणपछि सडक निर्माणको काम शुरु हुने भण्डारीले बताए ।

पुलका लागि क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, क्याम्प, पुलका लागि करिब ७० हजार घरमिटर ढुंगा तथा बालुवा संकलन भइसकेको निर्माण कम्पनीले जनाएको छ । पुलसँगै महाकाली नदी वारि करिब ६ किमी र पारि दोधाराचाँदनीतर्फ डेढ किमी चार लेनको सडकसमेत निर्माण हुनेछ ।

रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । पुल निर्माण भए कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुने स्थानीयवासीको अपेक्षा रहेको छ । रासस

तस्बिरः पप्पु कालापानीबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org