ताजा समाचार

अबको पाँच वर्ष देश प्रचण्ड की ओली कसले हाक्ने ?


काठमाडौं, १२ पुस । अबको प्रधानमन्त्रीको नेतृत्व कसले गर्ने भन्ने विषयमा एमाले माओवादीबीच विवाद सिर्जना भएको छ । दुई पार्टीभित्र यस विषयमा गहन छलफल नभएपनि नेताहरुले सार्वजनिक गरिरहेका धारणाले विवाद उत्पन्न भएको पुष्टि भएको छ । वाम एकता र नयाँ सरकार गठनका विषयमा एमाले र माओवादी केन्द्रभित्र विभिन्न कोणबाट छलफल भईरहेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमध्ये एक एक जना वाम एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने लगभग पक्कापक्की छ । तर कसले प्रधानमन्त्री र कसले पार्टीको नेतृत्व गर्ने भन्नेमा दुई दलभित्र विवाद भएको हो । एमालेले नेताहरु ओलीले देशको नेतृतव गर्नुपर्ने तर्क पेश गरिरहेका छन् भने माओवादी नेताहरु प्रचण्डले प्रधानमन्त्री बन्नपर्ने धारणा अघि सारिरहेका छन् ।

जसका कारण उत्पन्न विवाद सजिलै समाधान हुने छनक देखिदैंन् । नयाँ सरकार निर्माण र पार्टी एकताबारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज वार्ता हुँदैछ । दुई नेताबीच हुन लागेको वार्तालाई ‘बहुप्रतिक्षित’ मानिएको छ ।

आज हुने वार्ताले अबको प्रधानमन्त्री ओली कि प्रचण्ड ? भन्ने टुंगो लाग्ने जनाईएको छ । एमालेका अधिकांश नेताहरू आगामी पाँच वर्षसम्म केपी ओली नै प्रधानमन्त्री हुने बताउँदै आएका छन् । जुन कुराले माओवादी केन्द्रका नेताहरूलाई झस्काएको छ ।

प्रचण्डले नै नयाँ सरकार आलोपालो चलाउने भन्ने सहमति भएको खुलासा गरिसकेपछि पनि एमाले नेताहरूको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै ओली नै हुने भन्ने अभिव्यक्तिले अबको पाँच वर्षसम्म प्रचण्ड राज्यसत्ता र पार्टी सत्ताबाट बाहिरै रहलान् त ? भन्ने विश्लेषण गर्न थालिएको छ ।

मंगलबार हुने भनिएको वार्ता प्रचण्ड चितवनबाट काठमाडौं आउन ढिलाइ भएपछि हुन सकेको थिएन । बुधबार बिहानलाई भेटवार्ताको समय मिलाइए पनि समय भने निश्चित नभएको बताइएको छ । पार्टी एकताका विषयमा निकै टीकाटिप्पणी हुन थालेपछि ओली र प्रचण्डबीच निर्णायक वार्ता हुन लागेको स्रोतले बतायो । सरकार निर्माण र पार्टी एकीकरण सँगसँगै गर्नुपर्ने निष्कर्षमा पुगेको माओवादी केन्द्रले उक्त विषयको औपचारिक प्रस्ताव ओलीसमक्ष राख्ने तयारी गरेको छ ।

निर्वाचनलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । विभिन्न कार्यक्रममा ओली र प्रचण्डले पार्टी एकता छिट्टै हुने भने पनि लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ । यदि आजको वार्ता सकारात्मक ढंगले अघि नबढेमा प्रचण्ड नै प्रधानमन्त्री हुने लाइनमा अघि बढिसकेको हुनसक्ने अनुमान पनि गरिएको छ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org