ताजा समाचार

प्रचण्डसँग भेटेलगत्तै ओलीको उपेन्द्र यादवलाई टेलिफोन, बाबुराम पनि सिंहदरवारको यात्रामा

काठमाडौं, १२ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच टेलिफोन बार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेसँगै एमाले अध्यक्ष ओलीले यादवसँग टेलिफोन वार्ता गरेका हुन् । पार्टी एकता र नयाँ सरकार गठनका विषयमा आज (बुधबार) एमाले अध्यक्ष निवास बालकोटमा प्रचण्डसँग छलफल गरेसँगै ओलीले यादवसँग टेलिफोन कुराकानी गरेका हुन् ।

नयाँ सरकार गठनमा निर्णायक देखिएको संघीय फोरमलाई एमाले र माओवादी दुवै आफ्नो पक्षमा पार्न लागिपरेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको फोरम देखाउँदै एक-अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् ।

ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा चरणबद्ध कुराकानी गरेको बालकोट र फोरम दुवै स्रोतले पुष्टि गरेको छ । ओलीनिकट नेताहरूले भने संसद्मा नवनिर्वाचित पाँच राष्ट्रिय पार्टीमध्ये जोकसैसँग छलफल हुनु स्वाभाविक रहेको भन्दै ओली-यादव भेटको बचाउ गरे । र आजै मात्र पनि ओली र उपेन्द्रको सम्बाद भएको छ।

‘ओली र यादवको शनिबारयता तीनपल्ट कुरा भइसक्यो, प्रचण्डले आलोपालो प्रधानमन्त्री मागेपछि उहाँ असन्तुष्ट बन्नुभएको छ,’ स्रोतले भन्यो, ‘सरकार त एमाले-माओवादीकै बन्ला तर दुवै पार्टीले फोरमलाई देखाएर एकअर्कालाई साइजमा राख्न खोजेका हुन् ।’

प्रचण्डले केही दिनअघि चितवन पुगेर आलोपालो सत्तारोहणको सहमति खुलासा गरेका थिए । अनि एमालेले फोरमसँग मिलेर आफ्नो पार्टीलाई दबाबमा राख्न खोजेको पनि नवलपरासीको अर्को कार्यकर्ता भेटमा व्यक्त गरेका थिए ।

सिंहदबार यात्रामा बाबुरामको पनि कसरतः
नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । अनि ४५ मिनेट गफिए । नयाँ शक्तिसँग आबद्ध एक बुद्धिजीवीका अनुसार भट्टराईले ओलीलाईस्थिर सरकार र आर्थिक समृद्धिको एजेन्डाका लागि आफ्नो आवश्यकता खड्किए ‘सघाउन तयार रहेको’ सन्देश यसअघि नै पुर्‍याइसकेका छन् । भट्टराईले ओली भेटमा यसबारे कुनै कुरा नभएको दाबी गरे ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org