ताजा समाचार

अब सार्वजनिक स्थानमा फोहोर फाले प्रहरीले ‘च्याप्प’ समात्ने, अनि २४ घण्टा हिरासत बस्नुपर्ला !

काठमाडौं, १३ पुस । के तपाई सार्वजनिक स्थलमा फोहोर फाल्दै हुनुहुन्छ ? यदि हो भने ख्याल गर्नुहोस् प्रहरीले पक्राउ गर्ला । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई समात्न नेपाल प्रहरीको सहयोग मागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई महानगरपालिकाकाको वातावारण विभागले फोहोर फाल्नेलाई प्रहरीमार्फत पक्रिएर कारवाही गर्न प्रस्ताव गरेको हो ।

प्रमुख जिल्ला अधिकारीलाई फोहोर फाल्नेलाई कानुनबमोजिम कारवाही गर्न सहयोगका लागि आग्रह गरेको महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए । ‘सिडओ साहब हाम्रो प्रस्तावमा सहमत हुनुभएको छ । अब ड्युटीमा रहेका प्रहरीले पनि हामीलाई फोहोरमैला नियन्त्रणमा सहयोग गर्नुहुनेछ,’ कुँवरले भने ।

फोहोरमैला व्यवस्थापन ऐनले जथाभावी फोहोरमैला गर्नेलाई नियन्त्रणमा लिन प्रहरीको सहयोग लिन सक्ने व्यवस्था गरेको छ । अब सार्वजनिक रुपमा फोहोर फाल्दै गरेकाहरुलाई ड्युटीमा रहेका प्रहरीले पनि पक्राउ गर्ने कुँवरले बताए । ‘प्रहरी २४ घण्टा नै सार्वजनिक स्थानमा खटिएको हुन्छ । हामीले मात्रै नियन्त्रणका लागि गरेका प्रयास सफल भएन,’ कुँवरले भने,’अब प्रहरीको सहयोग लिएर जथाभावी फोहोर फाल्नेलाई हामी कारवाही गर्छौं ।

फोहोरमैला व्यवस्थापन ऐनले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई ५ सयदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । प्रहरीले पनि अनुसन्धानका लागि २४ घण्टा हिरासतमा राख्न सक्ने कुँवरले बताए । फोहोर व्यवस्थापन काठमाडौं उपत्यकाको प्रमुख टाउको दुखाईको विषय बनिरहेका बेला प्रहरीको सहयोगले धेरैहदसम्म नियन्त्रणमा आउने महानगरले विश्वास लिएको छ । जथाभावी फोहोर नफाल्न महानगरले विभिन्न प्रयासहरु गरेपनि खासै सार्थकता पाउन नसक्दा प्रहरीको सहयोग लिनुपरेको महानगरले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org