ताजा समाचार

आफ्नो दुस्मन मान्दै आएका राजेन्द्र महतो ओली सरकारमा मन्त्री बन्न मरिहत्ते गर्दै

काठमाडौं, १४ पुस । कुनै समय नेकपा एमाले राजपाको मुख्य दुस्मन थियो । मधेश विरोधिको रुपमा एमालेले परिचित गराउँदै मधेशवादी दलले राजनीति गरे । एमालेले मधेशी जनताको अधिकारमाथि धावा बोलेको भन्दै राजपाले एमालेलाई मधेशमा प्रवेश निषेध समेत गयो । यहि आँडमा राजपाले मधेशमा राम्रै मत ल्यायो भने एमालेले आफ्नो जनआधार गुमाउन पुग्यो । तर यतिबेला समय परिवर्तन भएको छ ।

बेला फेरिएको छ । जसरी पनि सत्ता केन्द्रीत हुनुपर्ने मधेशवादी दलको चाहनाले राजपा नेताहरु फेरी कुनै समय आफ्नो मुख्य दुस्मन मान्दै आएको एमाले नजिक हुन थालेका छन् । पछिल्लो समय राजपा नेता राजेन्द्र महतोले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने रटान छाडेका छैनन् । हरेक कार्यक्रममा उनले प्रदेश नम्बर २ मा मधेसी दलको सरकार बन्ने बताउँदै उनले संघीय समाजवादी फोरमको तारिफ गर्ने गरेका छन् । यदि राजपा र फोरमबीच सहकार्य भएमा प्रदेश नम्बर २ मा मुख्यमन्त्री संघीय समाजवादी फोरमले पाउने छ ।

तर, महतोको भित्री उद्देश्य भनेको वामपन्थी नेतृत्वको सरकारमा सहभागी हुने रहेको बताइएको छ । त्यसका लागि उनले एमालेका प्रायः सबै नेताहरूसँग छलफल गरिसकेका छन् । यदि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए भने महतो सो सरकारको मन्त्री हुने निश्चित छ । महतोले त्यसरी नै आफुलाई प्रस्तुत गरिरहेका छन् ।

चुनावको परिणाम आएलगत्तै ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम सहभागी हुने निश्चित भइसकेको थियो । त्यसबेलासम्म अरु पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा ओली र यादवबीच कुनै समझदारी भएको थिएन । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘ओली उपेन्द्र यादवलाई लिएर सरकार बनाउने तयारीमा लागेको’ भन्ने रहस्य खोलिदिएपछि अहिले स्थिति फरक देखिएको छ ।

ओली प्रधानमन्त्री भएमा सो सरकारमा सहभागी हुन राजेन्द्र महतोले नयाँ सूत्र फेला पारेका छन् । स्रोतका अनुसार संविधान संशोधन गर्ने सर्तमा राजपा सरकारमा सहभागी हुनेछ । तर, राजपाका अधिकांश नेता ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने पक्षमा देखिएकाले राजेन्द्र महतो सकसमा परेका छन् । सोही कारण महतोले संघीय समाजवादी फोरमसँग पार्टी एकता हुने भन्ने रटान लाउन नछोडेको राजपाका एक केन्द्रीय सदस्यले बताए ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org