ताजा समाचार

ओली विरामी पर्दा एकता संयोजन समिति बैठक अनिश्चित, ओलीसँग प्रचण्डले आज भेटवार्ता गर्ने

काठमाडौं, १९ पुस । वाम एकता संयोजन समितिको बैठक केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएपछि मात्रै बस्ने भएको छ । झाडापखालाका कारण अस्वस्थ रहेका एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार आएसँगै प्रचण्ड र ओलीबीच आज साँझसम्म भेटवार्ता हुने ओलीका प्रेस सहयोगी चेतन अधिकारीले जानकारी दिए ।

चिसोका कारण २–३ दिन बालकोटस्थित निवासमै रहेका ओली बुधबार विहानदेखि तङ्ग्रिएपछि ओली–प्रचण्डबीच भेटघाटको सम्भावना बढेको हो। ‘अध्यक्ष ओलीको स्वास्थ्यस्थिति अहिले राम्रो छ, आज विहानैदेखि भेटघाट गर्न थाल्नु भएको छ’ अधिकारीले भने, ‘भेटघाट तय त भइसकेको छैन, तर साँझसम्म दुई शीर्ष नेताहरुबीच भेट हुनसक्छ।’

दुई नेताहरुबीचको भेटवार्तापछि मात्रै एकता संयोजन समितिको बैठक बस्ने अधिकारीको भनाई छ । आज हुने सम्भावित भेटमा मूलतः पार्टी एकताका विषयमा नै दुई शीर्ष नेताबीच छलफल हुनेछ। हिजो भएको माओवादी केन्द्रको सचिवालय बैठकमा प्रचण्डले ओलीको स्वास्थ्यस्थितिका कारण २–३ दिन यता ओलीसँग भेट हुन नसकेको बताउँदै छिट्टै पार्टी एकताका विषयमा कुराकानी गर्ने जानकारी गराएका थिए।

वाहिर चर्चा गरिएजस्तो एकता संयोजन समितिको बैठक चाहिँ आज बस्ने सम्भावना छैन। ओली–प्रचण्डबीच आज साँझसम्म भेट हुन सक्यो भने त्यसपछिमात्र एकता संयोजन समितिको बैठक बस्न सक्छ। किनभने, पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा सहमति भएपछिमात्र एकता संयोजन समितिको बैठक राख्ने मुडमा ओली–प्रचण्ड छन्।

यसअघि १२ पुषको भेटमा ओली–प्रचण्डले १–२ दिनमै संयोजन समितिको बैठक बस्ने निर्णय गरेका थिए। तर ओली अस्वस्थ्य भएपछि बैठक पनि अनिश्चित भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org