ताजा समाचार

छाउपडी गोठमा नेपाल प्रहरीकै श्रीमतीको ज्यान गयो

अछाम, २४ पुस । अछाममा फेरि एक महिलाको छाउपडी गोठमा ज्यान गएको छ । महिनावारी भएको बेला घरभन्दा परेका छाउगोठमा सुतेकी अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर –३, भैरवस्थानकी २२ वर्षीया गौरी बुढा आइतबार राति मृत फेला परेकी हुन् । गौरीका श्रीमान वीरेन्द्रका अनुसार छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा आइतबार राति ज्यान गएको हो ।

मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत थिईन् । बेलुकीपख खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले जानकारी दिए । मृत्यु हुनु अघिल्लो दिनभर मेलामा खर काटेको र उनी बिरामी नभएको बुढाले जानकारी दिए ।

नेपाल प्रहरीमा जागिरे मृतकका श्रीमान् काठमाडौंबाट फर्केपछि मात्र उनको मंगलबार दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ । महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थान गाविसलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको हो । गत वर्षमात्रै पनि तिमिल्सेनमा डम्बरा उपाध्याय र गाज्रामा रोशनी तिरुवाको छाउपडी गोठमै सुतिरहेको अवस्थामा ज्यान गएको थियो । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org