ताजा समाचार

काठमाडौँको झल्को दिने गरी रत्ननगरमा बन्यो ‘धरहरा’

चितवन, २४ पुस । गोरखा भूकम्पले २०७२ साल वैशाख १२ गते राजधानी काठमाडौं सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को नबनाउँदा सर्वत्र चासो व्याप्त छ तर त्यसैलाई याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ । दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी हो ।

यही पुस २७ देखि यहाँ शुरु हुने रत्ननगर महोत्सवका लागि आयोजकले मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण गरेका हुन् । महोत्सवको मुख्य आकर्षण नै धरहरा हुने भएको छ । रत्ननगर महोत्सव मूल आयोजक समिति संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धरहरामा चढेर दृश्यावलोकन गर्न सक्नेगरी बाँसबाट निर्माण गरिएको बताउनुभयो । “यसले महोत्सवको रौनक थपेको र सर्वसाधारणका लागि मुख्य आकर्षक हुने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २७ गतेबाट महोत्सव शुरु हुँदैछ । ऐतिहासिक महत्वको धरहराको प्रतिमूर्ति आफैँमा महत्वपूर्ण रहेको महिला अधिकारीकर्मी संगीता भट्टराईले बताउनुभयो । बाँसबाट कृत्रिम धरहरा निर्माणको काम लगभग पूरा भएको छ । सो धरहरा ७५ फिट अग्लो बनाइएको छ ।

तीस फिट माथिसम्म चढेर वरिपरिको दृश्य अवलोकनको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सात तलाको धरहरा निक्कै आकर्षक छ । बाँसलाई कपडाले बाँधेर निर्माण भएको अस्थायी धरहराको बाहिरी भाग पूरै सेतो कपडाले बेरेर दुरुस्त धरहराको रंङ दिइएको छ ।

एक पटकमा करिब ४० जना धरहरा चढ्नसक्ने छन् । महोत्सव अवलोकन गर्न आउनेलाई थप मनोरञ्जन प्रदान गर्न ऐतिहासिक महत्व बोकेको धरहराको प्रतिमूर्ति निर्माण गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org