ताजा समाचार

गोविन्द केसीको रिहाईको माग गर्दै बाबुराम भट्टराई देखि रविन्द्र मिश्रसम्म सडकमा

काठमाडौं, २५ पुस । प्रा. डा. गोविन्द केसीलाई पक्राउ गरेको विरोधमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई देखि पूर्वमन्त्री समेत सडकमा उत्रिएका छन् । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका केसीको समर्थनमा भट्टराई देखि पूर्वमन्त्री सम्म सडकमा उत्रिएका हुन् । उनीहरुले मंगलबार बिहानैदेखि माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेका छन् ।

सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा सुरक्षा दिइरहेका छन्।

प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । त्यसैगरी कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मालगायत कलाकारसमेत केसीको समर्थन गर्न माइतीघरमा भेला भएका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा. शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए । अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org