ताजा समाचार

यी हुन् मुख्यमन्त्री र राष्ट्रियसभा उम्मेदवार छान्न ओली–प्रचण्डका चार मापदण्ड

काठमाडौं, २६ पुस । एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री र राष्ट्रियसभा उम्मेदवार चार मापदण्ड तय गरेका छन् । सात प्रदेशका मुख्यमन्त्री र आसन्न राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्न चार मापदण्ड तय गरेका हुन् । बुधबार बिहान ओलीनिवास बालकोटमा बसेको दुर्इ दलका शीर्ष नेताका बैठकमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चार मापदण्डका आधारमा काम गर्न कार्यदलका सदस्यहरूलाई निर्देशन दिएको एमाले नेता शंकर पोखरेलले जानकारी दिए । ‘चार मापदण्ड तोकेर त्यसैका आधारमा काम गर्न उहाँहरुले निर्देशन दिनुभयो’– नेता पोखरेलले भने ।

मुख्यमन्त्री र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार छान्न सम्बन्धित प्रदेशका स्थानीय तहमा पार्टीले जितेको संख्यालाई पहिलो आधार मानिनेछ । मुख्यमन्त्रीको निर्णय गर्दा प्रदेशसभामा पार्टीले पाएको सिट संख्याका साथै सम्बन्धित प्रदेशका मुख्यमन्त्रीमा दाबेदारको व्यक्तिगत सम्भावना र कार्यक्षमतालाई समेत आधार मान्नु पर्नेछ । ‘यसरी निर्णय गर्दा पार्टी एकताको मर्मलाई ध्यानमा राख्नुपर्छ,’ पोखरेलले भने– ‘मुख्यमन्त्री र राष्ट्रियसभा उम्मेदवार छान्दा सन्तुलन पनि हुनुपर्छ भन्ने दुवै अध्यक्षको निर्देशन छ ।’

कार्यदलले व्यक्तिबारे निर्णय नगर्ने तर यस्तो गर्दा उपयुक्त हुन्छ भनेर सुझाव मात्रै दिने पोखरेलले बताए । प्रतिनिधिसभामा जसरी ६०–४० प्रतिशतका आधारमा नभर्इ सम्बन्धित प्रदेशमा पाएको संख्यालाई आधार मनेर उम्मेदवार छानिने उनले बताए ।

दुर्इ अध्यक्षको निर्देशनपछि राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर कार्यदलले पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेस गर्ने बताइएको छ । कार्यदलले बिहीबारदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेस गर्ने पोखरेलले बताए ।

कार्यदलको रिपोर्ट आउनुभन्दा पहिल्यै पार्टी एकता भइहालेमा भने यस कार्यदलको रिपोर्ट स्वतः एकीकृत तहको शीर्ष कमिटीमा हस्तान्तरण हुने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org