ताजा समाचार

माओवादी नेताले नै बागलुङका सांसद् देवेन्द्र पौडेलको गालामा दुई झापड हानेपछि…

बागलुङ, १२ माघ । बागलुङमा दुई सांसद कुटिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगर कुटिएका हुन् । उनीहरु आफ्नै नेताबाट कुटिएका हुन् ।

बिहीबार राति ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले दुई सांसद्माथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । दुई सांसदसँगै पौडेलका अंगरक्षकलाई समेत अर्यालले हात हालेका थिए ।

माओवादी केन्द्रका नेता रहेका सांसद पौडेल र राष्ट्रिय जनमोर्चाका नेता रहेका घर्ति संयुक्त वाम गठवन्धनका तर्फबाट हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । उनीहरु दुवैलाई जिताउन अर्याल सक्रियतापूर्वक लागेका थिए ।

बिहीवार दिउँसो निसीखोलामा आयोजित कार्यक्रममा जाने बिषयमा आफुलाई कुनै खबर समेत नगरेको भन्दै अर्यालले शुरुवातमा पौडेललाई दुई झापड हानेका थिए । त्यसलगत्तै धारामा मुख धुन गएका प्रदेश सांसद घर्तीलाई पनि उनले एक मुक्का प्रहार गरे । हातपात गर्ने क्रममा होटलको केही शिशा पनि फुटेको छ । तर दुवै सासंद संयमित भएकाले थप अप्रिय घटना केही हुन पाएन ।

सांसदमाथिको हातपात तथा दुव्र्यवहारबारे प्रश्न गर्दा माओवादी नेता अर्यालले घटना स्वीकार गरे । ‘यो हामीलाई दास सोच्दा र बनाउँदाको अभिव्यक्ति हो’, माननीयद्वयलाई कुट्नुको कारण स्वीकार्दै अर्यालले भने, ‘हामी यिनीहरुलाई जिताउन चाहिने, दिलोज्यान दिएर हिड्नुपर्ने, अहिले चुनाव जितेपछि कार्यक्रममा जाँदा समेत वास्ता नगर्ने ?’

‘होटलमा बसिरहेका बेला तुल्सीजीले मदिरा लगाउनु भएको थियो’, आफूमाथि हातपात भएको मौन स्वीकृतिमा पौडेलले भने, ‘म अहिले सदरमुकाम फर्किएको छु, त्यस्तो ठुलो विषय होइन ।’ रातिको घटनापछि अर्याललाई भेट्न सांसद पौडेल र घर्ती बिहानै बुर्तिबाङ बजारस्थित उनको निवास पुगेका थिए । तर, अर्याल बिहानै उनकै बालुवाखानी पाखुट्टे पुगिसकेकाले भेट हुन हुन सकेन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org