ताजा समाचार

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘विशेष शिक्षा’ पठनपाठन हुने

काठमाडौं, १२ माघ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘विशेष शिक्षा’ पठनपाठन हुने भएको छ । त्यसका निम्ति दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले सहयोग गर्ने भएको छ । ‘विशेष शिक्षा’ सञ्चालनका लागि शुक्रबार काठमाडौंमा सुदूरपश्चिमाञ्चलकी उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र छाङओनका तर्फबाट विशेष शिक्षाविद् प्राध्यापक दाय योङ जङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

विशेष शिक्षाअन्तर्गत दृष्टिविहीन, बहिरा तथा सुस्त श्रवण, संवेगात्मक व्यवहार, शारीरिक अपाङ्गता, बहुअपाङ्गता, अपाङ्गता तथा विशेष आवश्यकतासहितका बालबालिकालाई शैक्षणिक प्रविधि समेटिएका छन् । पाँच वर्षका निम्ति सम्झौता भएको हो । जसअनुसार दुई देशका विश्वविद्यालयबीच स्नातक र स्नातकोत्तर तहमा विद्यार्थीलाई विशेष शिक्षा विषय अध्ययन तथा अनुसन्धान कार्य गराइने छ ।

त्यसैगरी प्राज्ञिक र प्रशासनिक कर्मचारीको सशक्तिकरण, छोटो अवधिका भाषा र सांस्कृतिक प्रशिक्षण, अध्ययन तथा अनुसन्धान, सांस्कृतिक आदानप्रदान गरिने छ । ‘छाङओन नेसनल युनिभर्सिटीले नेपालका निम्ति नयाँ विषय प्रवर्द्धनमा सहयोग गर्दैछ,’ पत्रकार सम्मेलनमा उपकुलपति श्रेष्ठले भनिन्, ‘विशेष शिक्षाले सुदूरपश्चिमाञ्चल क्षेत्रका समुदायले सेवा पुर्‍याउने छ । त्यस निम्ति हामीले विशेष शिक्षाका निम्ति छुट्टै भौतिक पूर्वाधार निर्माणको काम थालेका छौं ।’ यसअघि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय टोलीले कोरियाको विशेष शिक्षा व्यवस्थापनबारे स्थलगत अवलोकनसमेत गरेको थियो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org