ताजा समाचार

अफगानिस्तानको एक सैन्य वेसमा भीषण आक्रमण, ११ अफगान सैनिक मारिए

काठमाडौं, १५ माघ । अफगानिस्तानको राजधानी काबुलको सैनिक प्रतिष्ठान नजिकको सैन्य वेसमा ‘आइएस’ ले भीषण आक्रमण गरेको छ । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे भएको आक्रमण परी कम्तीमा १५ जना मारिएका छन् ।

मारिनेमा ११ जना अफगान सैनिक र चारजना आक्रमणकारी रहेका छन् । १६ जना सैनिक घाइते भएका छन् । एकजना आक्रमणकारीलाई पक्राउ गरिएको छ । आक्रमणकारी भारी हतियारसहित आएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सैन्य वेसको मूलगेटबाट प्रवेश गरेका आक्रमणकारीलाई दोस्रो गेट प्रवेश गर्नबाट रोकिएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । काबुलमा एम्बुलेन्समा विस्फोटक पदार्थ भरेर १०० भन्दा बढी व्यक्ति मारिने गरी गरिएको आत्मघाती आक्रमणपछि सोमबार फेरि अर्को आक्रमण भएको हो ।

इस्लामिक अतिवादी समूह ‘आइएस’ले आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा इस्लामिक अतिवादी समूह र तालिबानले अफगान सुरक्षाकर्मीलाई निशाना बनाउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org