ताजा समाचार

कालो धनबारे ओलीलाई रामशरण महतको कडा जवाफ, ‘हावा कुरा गरेर देश चल्दैन्’

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कालो धनलाई वैध बनाउन दिने भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाईप्रति कडा टिप्पणी गरेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका महतले कानुनअनुसार नै चल्नुपर्ने भन्दै वैध अवैधका बारेमा कसैले बोल्दैमा केही नहुने बताए ।

“कानुनभन्दा बाहिर गएर कुनै पनि धनलाई सेतो बनाउँन सकिदैन । कालो धनलाई सेतो बनाउने मनी लाउन्डरिङ गलत छ ।” महतले भने । “उहाँले कुन सन्दर्भमा भन्नुभयो थाहा छैन । तर कालो धनलाई सेतो बनाउँछु भन्नु सरासर गलत हो ।” उद्योगीहरुसँगको भेटमा ओलीले कालो धनलाई शुद्ध पार्दै लगानी गर्ने वातावरण बनाउने बताएका थिए । त्यसैको जवाफमा महतले यस्तो टिप्पणी गरेका हुन् ।

नेपालको नेतृत्व कति परिपक्व छ भन्ने कुरा यस्तै अभिव्यक्तिले देखाउँछ भन्दै महतले ओलीको कटाक्ष गरे । “नेपालको राजनीतिक नेतृत्व कति सुझबुझपूर्ण, कति परिपक्व र कति दुरदर्शी रहेछ भन्ने यसले देखाउँछ । हल्का फुल्का टिप्पणी गरेर देशको सुशासन चल्दैन ।” महतले भने ।

देशको प्रधानमन्त्री बन्नका लागि तयार भएर बसेको व्यक्तिले यसप्रकारको टिप्पणी गर्नु दुखद भएको महतको भनाई छ । अजेयराज सुमार्गीको प्रसङ्ग जोड्दै महतले जसले जहाँबाट पैसा ल्याएपछि कानुनबमोजिम ल्याएको भए वैध र कानुनविपरित भए अवैध हुने कुरामा स्पष्ट हुनुपर्ने बताए । “विधिसम्मत तरिकाले पैसा ल्याएको छ भने त्यसलाई अनावश्यक आरोप लगाउनु जरुरी छैन । विधिसम्मत छैन भने प्रश्न उठ्न सक्छ ।” महतले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org