ताजा समाचार

१४ वर्षीया अपाङ्ग बालिका बलात्कार गरेर ७२ वर्षे बृद्ध हाफपाइन्टमै फरार !

धादिङ, १८ माघ । धादिङमा एक बोल्न नसक्ने १४ वर्षीया बालिकालाई ७२ वर्षे वृद्धले बलात्कार गरेका छन् ।पत्याउनै नसकिने ‘वनले आइज’ भन्ने उमेरका बृद्धले धादिङको गजुरीमा बोल्न नसक्ने अपाङ्ग बालिकालाई बलात्कार गरेर फरार भएका हुन् । बालिकाको घरैमा पसेर बलात्कार गरेपछि उनी हाफपाइन्ट लगाएर फरार भएका छन् ।

बलात्कारी वृद्धको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, गजुरीका प्रमुख इन्स्पेक्टर सञ्जय तिमिल्सिनाले जानकारी दिए । ‘प्रतिवादी फरार छन्, हामीले अनुसन्धानपछि मुद्दा चलाइसकेका छौं’, तिमिल्सिनाले भने, ‘उनी जान सक्ने हरेक ठाउँहरुमा खोजी गरिसकेका छौं । उनी हाफपाइन्ट र सर्टमात्रै लाएर मोबाइलसमेत नलिई बेपत्ता भएकाले भेट्न गाह्रो भइरहेको छ ।’

आफ्ना परिवारजनसँग पनि ती वृद्ध सम्पर्कमा नरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । घरमा कोही नभएको मौका छोपी ती बृद्धले घरभित्रै पसेर बालिका बलात्कार गरेका हुन् । गरिव परिवारकी ती बालिकाका बुवाले बलात्कार गर्ने बृद्धलाई रंगेहात फेला पारेका थिए । तर उनी घरभित्रैबाट भाग्न सफल भए ।

यसरी भयो घटनाः
उनले घरमा कोही नभएको मौका छोपी जबरजस्तीकरणी गरे । बौद्धिक अपाङ्ग भएकी ती बालिका उनका अगाडि निरीह भईन् । त्यसै क्रममा पीडित बालिकका बुबा त्यहाँ आइपुगे । तर, सोझा ती बुबाले के गर्ने कसो गर्ने कुनै मेसो पाएनन् ।

छरछिमेकलाई बोलाउने भन्दै उनी ती वृद्धलाई घरमा थुनेर बाहिर निस्किए । तर, विडम्वना, पीडितका बुबा बाहिर निस्किएका बेला उनी घरको कमजोर छिस्किनी खोलेर बाहिर निस्किन सफल भए ।

‘मैले थुनेर आएको छु भनेर ढुक्क भएर छरछिमेकलाई बोलाउन गएँ’, पीडित बालिकका बुबाले भने, ‘तर, कमजोर छिस्किनी तोडेर उ त भागिसकेछ ।’ घटनालगत्तै उनले इलाका प्रहरी कार्यालय, गजुरीमा किटानी जाहेरी दिए । प्रहरीले जबरजस्ती करणी अन्तरगत मुद्दा चलाएको छ । तर, अहिलेसम्म पीडक फेला पर्न सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org