ताजा समाचार

प्रदेश ७ को मुख्यमन्त्रीमा डोटीका त्रिलोचन भट्टको नाम सिफारिस, अब केन्द्रले निर्णय गर्न बाँकी

डोटी, १९ माघ । प्रदेश ७ को मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र पोलिटव्यूरो सदस्य त्रिलोचन भट्टको नाम सिफारिस गरिएको छ । शुक्रबार माओवादी केन्द्रको प्रदेश कार्यालयबाट माओवादी केन्द्रले डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद भट्टको नाम सिफारिस गरेको हो ।

वाम गठबन्धनको तर्फबाट प्रदेश ७ मा सरकारको नेतृत्व गर्ने जिम्मा माओवादी पाएको छ । माओवादीले जिम्मा पाएपछि भट्टको नाम सिफारिस गरिएको पार्टी प्रदेश कमिटी सचिवालयले जानकारी दिएको छ । छलफलमा भट्टको नाममा सहमति र औपचारिक निर्णय हुन भने बाँकी रहेको पार्टी प्रदेश कमिटी सचिवालयले जनाएको छ ।

केही समयभित्रै औपचारिक निर्णय हुने पार्टी सचिवालयले जानकारी दिएको हो । ‘प्रदेश कमिटीबाट भट्टको नाममा सहमति भएको छ’ माओवादी केन्द्रका ७ नम्बर प्रदेश संयोजक लक्ष्मणदत्त जोशीले भने ‘अब दुईरतीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।’

मुख्यमन्त्री पदका लागि पार्टीभित्र वीरभान चौधरी, झपट बोहरा र मानवहादुर धामीको नाम व्यापक चर्चामा रहेको थियो । तर, पार्टी प्रदेश कमिटीले तुलनात्मक रुपमा कम चर्चामा रहेका भट्टको नाम अघि सारेको हो । सरकारले प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि पहाड र तराईको सन्तुलन मिलाउने गरी पहाडलाई मुख्यमन्त्री दिने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको बुझिएको छ ।

द्वन्द्वकालमा भूमिगत राजनीतिक जीवन बिताएका भट्ट माओवादीभित्र इमानदार र नैतिकवान नेताका रुपमा परिचित छन् । ५३ सदस्यीय रहेको प्रदेश सभामा एमालेका २५ र माओवादी केन्द्रका १४ सांसद रहेका छन् भने कांग्रेसका १२ र राजपाका दुई सांसद छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org