ताजा समाचार

सुष्माले सिधै ओलीलाई भेटेपछि भारतसँग प्रधानमन्त्री देउवा ‘नराज’

काठमाडौं, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको अत्यन्तै निकट भनेर चिनिन्छन् । तर, यसपटक भारतले उनलाई छायाँमा पारिदिएको छ । प्रधानमन्त्री वा सरकारी संयन्त्रलाई बेवास्ता गर्दै प्रमुख विपक्षी दलका नेतासँग विदेशमन्त्री सुस्मा स्वराजले भेट गरेपछि देउवा भारतसँग रिसाएका छन् ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले स्वराजको भ्रमण र भेटघाटप्रति देउवा असन्तुष्ट रहेको बताए । भारतबाट स्वराजको भ्रमण हुने जानकारी परराष्ट्रमा आएपछि प्रधानमन्त्री कार्यालयलाई पनि उक्त जानकारी प्रवाह गरिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले उनको स्वागत र भ्रमणका एजेण्डाको तयारी थाले ।

‘प्रधानमन्त्री ज्यूको निर्देशनअनुसार हामीले तयारी गरेका थियौँ,’ प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने, ‘तर स्वराजले पहिले केपी शर्मा ओलीलाई भेट्ने जानकारी आएपछि हामीले प्रधानमन्त्री ज्यूलाई जानकारी गरायौँ ।’ त्यतिबेला प्रधानमन्त्री देउवाले आफूहरुको कुरा नपत्याएको उनको भनाइ छ ।

‘सरकारी संयन्त्र हुँदा हुँदै केपी ओलीलाई भेट्ने ?’ देउवाको भनाइ उदृत गर्दै ती अधिकारीले भने, ‘यो सबै हल्लामात्र हो, तपाईँहरु तयारी अघि बढाउनुस् ।’ तर स्वराजले आएर पहिलो भेट नै केपी ओलीसँग गरिन् । त्यसपछि भने देउवा जिल्ल परे ।

भारतीय मिडिया तथा राजनीतिक क्षेत्रमा समेत भारत नजिक भनेर चिनिदैं आएका देउवा स्वराजको नेपाल भ्रमणले जिल्ल परेका हुन् । भारत विरोधी मानिदैं आएका एमाले अध्यक्ष केपी ओलीलाई पहिलो प्राथमिकता दिएपछि देउवा रुष्ट बनेका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org