ताजा समाचार

प्रदेश ७ को पहिलो बैठकमा उठ्यो ‘मोष्ट वान्टेड सांसद’ रेशम चौधरीलाई प्रमाणपत्र दिने कुरा

धनगढी, २१ माघ । प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक आईतबार सम्पन्न भएको छ । धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बसेको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकमा प्रदेशसभा जेष्ठ सदस्य ७४ बर्षीय दिव्यश्वरी शाहले सभामुखको जिम्मेवारी सम्हाल्नुभयो ।

सभामुख शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ दलका एक–एक जना सांसदहरुले संबोधन गरेका थिए । बैठकमा टिकापुरबाट प्रतिनिधि सभामा बिजयी मोष्ट वान्टेड रेशम चौधरीलाई निर्वाचन जितेको प्रमाणपत्र दिन माग उठेको छ।

राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले बैठकमा बोल्दै रेशमलाई प्रमाणपत्र दिन माग गर्नुभएको थियो । रेशमलाई टिकापुर घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले मोष्ट वान्टेड सुचिमा राखेको छ । सर्वोच्च अदालतले समेत प्रमाणपत्र नदिन निर्देशन दिईसकेको छ ।

‘सभामुख महोदय, जनताले अत्यधिक बहुमतले निर्वाचन जिताएका रेशम चौधरीलाई तुरुन्त प्रमाणपत्र प्रदान गर्न यो सभा मार्फत पहल गरियोस, साथै भदौ ७ गते टिकापुर घटना घटेको दोस्रो दिन कर्फ्युकाबिच थारुहरुका घर छानीछानी जलाउने र लुटपाट गर्नेहरुलाई पनि जेल हालियोस भन्ने माग म जोडदार रुपमा उठाउन चाहन्छु।’ रानाले भनिन्।

उनले कैलालीका थारु समुदायले राजधानीको माग नउठाएको प्रष्ट पार्दै पहिचान र अधिकारको माग गरेको बताईन्। ‘थारुहरुलाई भुलाउन राजधानी यहाँ तोकिएको छ तर थारु जनताको माग राजधानीको होईन अधिकार र पहिचानको हो त्यसैले अधिकार प्रदान गर्न प्रदेश सभाले पहल गरोस म सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु।’ रानाले भनिन्।

प्रदेश सभाको पहिलो बैठकमा कांग्रेसका भरत खड्का, माओवादीका त्रिलोचन भट्ट र एमालेका प्रकास शाहले मन्तव्य राख्नुभएको थियो । उहाँहरुले सबैले प्रदेश नम्बर ७ को विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org