ताजा समाचार

उत्तर कोरियाले वार्ताका लागि ‘राष्ट्रप्रमुख’ नै दक्षिण कोरिया पठाउँदै

एजेन्सी, २२ माघ । वार्ताका लागि उत्तर कोरियाले ‘राष्ट्रप्रमुख’ नै दक्षिण कोरिया पठाउने भएको छ । ओलम्पिक खेलमा सहभागीताबारे छलफल गर्न उत्तर कोरियाले अहिलेसम्मकै उच्चस्तरीय टोली दक्षिण कोरिया पठाउन लागेको हो ।

शुक्रबार हुने वार्ताको नेतृत्व उत्तर कोरियाका संसद प्रमुख किम योङ नामले गर्ने भएका छन् । उनी उत्तर कोरियाका सेरेमोनियल राष्ट्रप्रमुखसमेत हुन् । उनी २२ सदस्यीय टोलीको नेतृत्व गर्दै दक्षिण कोरिया जान लागेका हुन् । उत्तर कोरियाबाट दक्षिण कोरियामा हुन लागेको यो चार वर्षयताकै उच्चस्तरीय भ्रमण रहेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।

दक्षिणले सन् २०१० देखि नै उत्तरका पानीजहाजलाई दक्षिणी तट प्रवेशमा रोक लगाएको भए पनि यो उच्चस्तरीय वार्ताका लागि सो प्रतिबन्ध खुलाइने दक्षिणको मन्त्रालयले जनाएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच शत्रुतापूर्ण सम्वन्ध छ । उत्तर कोरियाको आणविक अस्त्र परीक्षणले कटुतालाई झन् बढाएको छ ।

फेब्रुअरी ९ देखि २५ सम्म हुने ओलम्पिकलाई दुवै कोरियाबीचको सम्वन्ध सुधारको अवसरको रुपमा पनि लिइएको छ । ओलम्पिक उदघाटन समारोहमा दुबै कोरियाका खेलाडीहरुले एउटै झण्डा मुनि मार्चपास गर्ने बीबीसीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org