ताजा समाचार

डोटीमा अस्पतालभित्रै बालिकामाथि यौनप्रस्ताव नमान्दा एसिड प्रहार, घटना लुकाउने प्रयास

डोटी, २२ माघ । पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराधका घटनाहरु बढ्दै गईरहेका छन् । काठमाडौंको एक चर्चित होटलमा र इटहरीमा भएको बलात्कारको घटना मत्थर हुन नपाउँदै डोटीमा समेत बलात्कारको प्रयास भएको छ । बलात्कारको प्रयास पनि जिल्ला स्वाथ्य कार्यालयमै भएको हो । स्वाथ्य कार्यालय डोटीमा कार्यरत एक कर्मचारीले बिरामीको कुरुवा बसेकी एक बालिका माथि बलात्कारको प्रयास गरेका हुन् ।

पाँच दिनदेखि जिल्ला अस्पताल डोटीमा उपचार गराइरहेकी हजुरआमाको कुरुवा बसेकी दिपायल सिलगढी नगरपालिका वडा नम्बर–७ बस्ने १५ बर्षिया बालिकालाई अस्पतालमा कार्यरत बिमल कुँवरले यौन प्रस्ताव राखेका थिए । तर बालिकाले अस्विकार गर्दा शरीरमा एसिड प्रहार गरेको पीडित बालिकाले बताएकी छिन् ।

कुँवरले आफ्नो यौन प्रस्ताव स्विकार नगरेको रिसमा बालिकामाथि एसिड खन्याएका हुन् । पीडित बालिकाका अनुसार आइतबार राति १० बजे जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आगो तापिरहेको समयमा कुँवर आगो ताप्ने निहुँमा आफ्नो नजिक आएर विस्कुट दिने भन्दै घुम्नलाई आफ्नो कोठामा जान आग्रह गरेका थिए । आफुले जान नमान्दा अस्पतालको ईमरजेन्सी वार्डबाट बोतलमा रहेको तरल पदार्थ छ्यापेका थिए । तरल पर्दाथ बालिकाको शरिरमा छर्कदा उनको यौनाङ्ग जलेको अस्पतालले जनाएको छ ।

पीडितसंगै रहेकी प्रत्यक्षदर्शी भगवती विकले भनिन्, ‘हामी आगो तापीरहेका थियौ, त्यो मानिस आयो अनेकौं कुरा गर्यो, हामिले नगर्न आग्रह गर्यौ तर उसले पीडित बालिकाको कपाल तान्दै उनी माथि हातपात गर्यो । केही समयपछि बोतलमा पानी जस्तो चिज ल्याएर उनको शरीरमा खन्याउँदा शरिरमा आगो बल्यो ।’

विगत ११ महिना देखि वायोमेडिसियन टेक्निसियनको रुपमा जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत कुँवरलाई आइतबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । पिडितको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ । यो घटनाको विषयमा दुवै पक्षबीच छलफल भइरहेको भन्दै डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुधन लुईटेलले भने, ‘बलात्कारको प्रयास भन्न मिल्दैन, आगो निभेको थियो बाल्नलाई स्प्रिड लिएर हाल्ने क्रममा बालिकाको शरीरमा पर्न गएको भन्ने छ ।’ तर पिडितले भने घटनालाई मत्थरपार्न खोजेको भन्दै आपत्ति जनाईरहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org