ताजा समाचार

राष्ट्रियसभा सदस्य चयनको लागि पहिलो पटक ६ वटा प्रदेशमा चुनाव सुरु

काठमाडौं, २४ माघ । देशैभरि पहिलो पटक राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ । प्रदेश २ को निर्विरोध भइसकेकाले आज छ वटा प्रदेशमा मतदान सुरू भएको छ । प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ३ को जवालाखेल चिडियाखाना अगाडि रहेको ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा निर्वाचन भईरहेको छ ।

त्यस्तै प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा मतदान भईरहेको छ ।

मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

२६ गतेभित्र नतिजा आईसक्नेः

बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म निर्वाचन हुनेछ । बेलुका पाँच बजेदेखि नै गणना सुुरु गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख उपप्रमुख मतदाता हुन् । उनीहरुले नै राष्ट्रियसभा सदस्य चुन्नेछन् ।

स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष गरी १ हजार ५०६ जना मतदाता छन् । प्रदेश सभाका ५ सय ५० सांसद छन् । स्थानीय तहको एक मतदाता बराबर १८ भोट र प्रदेश सांसदको एक भोट बराबर ४८ मतभार कायम गरिएको छ ।

राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । तर संविधान लागू भएपछि पहिलोपटक हुन लागेको निर्वाचनबाट जित्ने सदस्यको पदावधि गोलाप्रथाको माध्यमबाट कायम गरिने छ । एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम गरिने छ । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचन प्रणाली र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान छ ।

तस्बिरः तारालामा तामाङको फेसबुक र रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org