ताजा समाचार

प्रदेशहरुले मुख्यमन्त्री त के सभामुख समेत महिला नपाउने, उपसभामुखमै चित्त बुझाउनुपर्ने

काठमाडौं, २८ माघ । मुलुक अब महिलाविहीन मुख्यमन्त्री र सभामुख हुने भएका छन् । संघीयता कार्यान्वयनको अन्तिम चरणमा रहेको बेला मुख्यमन्त्री र सभामुख मध्ये कुनै पनि पद महिलाको हातमा पर्न सकेन् । फलस्वरुप महिलाहरुले उपसभामुखमा चित्त बुझाउनुपरेको छ । मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन प्रक्रिया चल्दै गर्दा प्रमुख दुई पदमा पुग्ने अवसरबाट महिला नेतृहरु वञ्चित भएका हुन् ।

मुलुकले पहिलो मुख्यमन्त्री बनाउने अवसर त गुमाइसकेको छ । सभामुखमा पनि महिला नपुग्ने निश्चित भएको छ । सातै प्रदेशसभाका सभामुखहरु पुरुष नै हुने देखिएको छ । प्रदेश ३ मा एमालेका सानु श्रेष्ठ र ७ मा अर्जुनबहादुर थापा सभामुख चयन भइसकेका छन् । प्रदेश १ मा बहुमतप्राप्त दल एमालेले प्रदीप भण्डारीलाई सभामुखको उम्मेदवार बनाएको छ ।

त्यस्तै प्रदेश २ मा संघीय फोरम र राजपा गठबन्धनको बहुमत छ । दुई दलको भागबण्डामा सभामुख राजपाको भागमा परेको छ । नेताहरुका अनुसार राजपा महासचिवसमेत रहेका मनिष सुमनलाई सभामुख बनाउने तयारी छ ।

प्रदेश ४ मा वाम गठबन्धनका तर्फबाट माओवादीले नेत्रनाथ अधिकारीलाई सभामुख बनाउने निर्णय गरेको छ । प्रदेश ५ को सभामुख माओवादीको भागमा परेको छ र त्यहाँ पनि महिला सभामुख बन्ने सम्भावना छैन । प्रदेश ६ मा वाम गठबन्धनका तर्फबाट एमालेका राजबहादुर शाही सभामुख उम्मेदवार बनेका छन् ।

मुख्यमन्त्री पनि सबै पुरुषः
सातवटै प्रदेशको मुख्यमन्त्री समेत सबै पुरुष हुने भएका छन् । प्रदेश ३ मा महिला मुख्यमन्त्री हुने सम्भावना थियो । तर, एमालेको गुटगत राजनीतिका कारण अष्टलक्ष्मी शाक्यले प्रदेश संसदीय दलको चुनावमा हार बेहोरिन् ।

प्रदेश १ मा शेरधन राई, २ मा लालबाबु राउत र ३ मा डोरमणि पौडेल ४ मा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुने भएका छन् । त्यस्तै प्रदेश ५ मा शंकर पोखरेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नेछन् । प्रदेश २ बाहेक सबैमा वाम गठबन्धनको सरकार गठन हुँदैछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org