ताजा समाचार

फेरी आए अर्का राष्ट्रवादी नेताः पूर्वमन्त्री पासवानद्धारा ७३ लाख रुपैयाँ उपचार खर्च माग

काठमाडौं, २९ माघ । पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख खर्च भएको भन्दै सो रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । २६ असार ०७३ को मन्त्रिपरिषद् बैठकको निर्णयलाई आधार मान्दै पासवानले शिक्षण अस्पताल महाराजगन्ज र भारतको मेदान्त अस्पतालमा गरी ७३ लाख खर्च भएको निवेदनसहित तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा बिल पेस गरेका हुन् ।

सरकारले शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गर्दा लागेको खर्च बिलका आधारमा पासवानलाई उपलब्ध गराउने निर्णयसहितको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । तर, पूर्वमन्त्री पासवानले उपचार गर्दा लागेको भन्दा दोब्बर बिल पेस गरेपछि मन्त्रालयका कर्मचारी रकम दिने या नदिने भन्नेमा अन्योलमा देखिएका छन् । उनलाई प्यांक्रियाजमा समस्या भएकाले उपचार सुरु गरिएको थियो ।

काठमाडौंको शिक्षण अस्पताल र भारतको मेदान्त अस्पतालमा औषधि उपचार गरेको मात्र होइन खाजा खाएको, यात्रा गरेको र अन्य खर्च पनि उनले मागेका छन् । आफूले निवेदनमा दाबी गरेअनुसार तत्काल रकम निकासा गर्न भन्दै स्वास्थ्य मन्त्रालय पुगेका पासवान कर्मचारीको कुरा सुनेर सोफामै ढलेका थिए ।

कर्मचारीले उपचार खर्चभन्दा बाहिरको बिल बढी आएको र रकम उपलब्ध गराउन कठिन भएको बताएपछि उनी रिंँगटा लागेको भन्दै मन्त्रालयको सोफामै ढलेका थिए । ‘उपचार खर्चको नाममा ७३ लाखको बिल पेस गरे पनि रकम नपाउनेजस्तो देखेपछि प्रेसर लो भएको भन्दै सोफामा ढल्नुभयो,’ मन्त्रालयका कर्मचारीले भने ।

पासवानले पेस गरेका बिलका शीर्षकहरुमाः
भारतीय नोट सटहीः १५ लाख दुई हजार ९९४ (एक सय ६) नेपालीबराबर सय भारु हुन्छ । तर, बैंकमा पैसा नपाएकाले कालोबजारमा साट्दा थप चार रुपैयाँ कमिसन तिर्नुपरेकाले सो पैसा पनि सरकारले दिनुपर्ने उनको मागदाबी छ । कालोबजारमा साटेको पैसा केमा खर्च भयो भन्ने विवरण भने उल्लेख छैन । औषधि उपचारलगायत सम्पूर्ण खर्च अलग्गै छ ।

– होटेल, चियाखाजा खर्चः १८ लाख ७३ हजार ६ सय
– यातायातः ८ लाख ९१ हजार ५७
– काठमाडौंको शिक्षण अस्पतालमा उपचारः ७ लाख १६ हजार
– भारतको मेदान्त अस्पतालमा उपचारः २३ लाख ४८ हजार ४२८

‘पूर्वमन्त्री पासवानले जम्मा ७३ लाख ३२ हजार मागदाबी गर्नुभएको छ । तर, सबै बिलका आधारमा दिन नमिल्ने भएपछि हामीले ४३ लाख सिफारिस गरेका छौँ,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org