ताजा समाचार

अरुण तेस्रो निर्माणको लागि भारतीय कम्पनी अयोग्य ठहर

काठमाडौं, १ फागुन । ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ठेक्काका लागि आवेदन दिएको भारतीय कम्पनी अयोग्य ठहर भएको छ । उक्त आयोजना आफुले बनाउनुपर्ने माग गर्दै अदालयत गएको भारतीय कम्पनी जयप्रकाश (जेपी) एसोसिएट्स अयोग्य ठहर भएको हो ।

प्राविधिक मूल्यांकनबाट हटाइएको उक्त कम्पनीले पाटन उच्च अदालतमार्फत् नयाँ प्रक्रिया रोक्ने प्रयास गरेको थियो । तर, अदालतबाट कम्पनीका पक्षमा आदेश आएन । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नीता गौतम दीक्षितको संयुक्त इजलाशले उक्त कम्पनीको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने निर्णय सुनाएको छ ।

संखुवासभामा पर्ने आयोजना कार्यान्वयनका लागि स्थापना भएको एसजेभीएन अरुण थ्री पावर डेभलपमेन्ट कम्पनीले जेपी एसोसिएट्सलाई अयोग्य ठहर्‍याएको हो । उक्त आयोजना भारतको सतलज जलविद्युत् विकास निगम लिमिटेडले निर्माण गर्न लागेको छ ।

आयोजनाले १० नोभेम्बर २०१७ मा बाँध, मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डर नम्बर ४१६ मा जेपीले पनि आवेदन दिएको थियो । त्यसबाहेक ज्ञानोन इन्जिनियरिङ, पटेल इन्जिनियरिङ, हिन्दुस्तान कन्स्ट्रक्सन र टाटा प्रोजेक्ट्सको पनि आवेदन परेको थियो । प्राविधिक मूल्यांकनमै बाहिरिएको जेपी आफूलाई बिनाकारण प्रतिस्पर्धाबाट हटाइएको दाबी गर्दै अदालत गएको थियो ।

अरुण तेस्रोको कुल अनुमानित लागत एक खर्ब चार अर्ब रुपैयाँ छ । यो आयोजना भारतीय लगानीमा निर्माण हुँदैछ । आयोजनाका लागि २ मार्च २००८ मा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । र, सोही वर्षको जुलाईमा सर्वे अनुमति दिइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org