ताजा समाचार

प्रदेश ७ ले भोलि मुख्यमन्त्री पाउने, ग्रहणले साईत बिगार्ने भन्दै शपथ २ दिनपछि

धनगढी, २ फागुन । प्रदेश ७ ले भोलि (बिहीबार) मुख्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रका डोटीका सांसद् त्रिलोचन भट्टलाई भोली मुख्यमन्त्रीमा नियुक्त गरिने प्रदेश प्रमुख मोहनराज मल्लले जानकारी दिए । प्रदेश प्रमुख मल्लको अध्यक्षतामा आज भएको छलफलले नियुक्ति र सपथ ग्रहणको समय निर्धारण गरिएको हो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यसमेत रहेका प्रदेश सांसद भट्ट डोटीबाट निर्वाचित भएका हुन् । प्रदेश प्रमुख मल्लले भोली भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र ५ गते सपथ ग्रहण गराउने सहमति भएको छलफलमा सहभागी माओवादी सांसद वीरमान चौधरीले जानकारी दिए । त्यस्तै उनले फागुन ५ गते सपथ ग्रहणको कार्यक्रम पनि तय भएको बताए ।

फागुन ४ गते सूर्यग्रहण लाग्ने हुँदा शुभ साइतलाई मध्यनजर गरी ५ गते शपथ ग्रहण कार्यक्रम तोकिएको हो । वाम घटक एमाले र माओवादीले प्रदेश प्रमुख मल्ललाई मुख्यमन्त्री नियुक्तिसम्बन्धी लिखित पत्र बुझाउने बुधबार नै बुझाउने तयारी गरेका छन् ।

मुख्यमन्त्रीको नियुक्तिमा ढिलाई हुन थालेपछि प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलहरुसँग छलफल गरेका हुन् । प्रदेश ७ को प्रदेश सभामा एमालेका २५, माओवादीका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org