ताजा समाचार

राष्ट्रपतिको टुँगो लागेन,उपेन्द्र सरकारमा आउने : भीम रावल

काठमाण्डौ १५ फागुन । एमालेका उपाध्यक्ष भीम रावलले फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लगाएर चैतको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्ने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै रावलले भने, ‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुङ्गो लगाउँछौं, त्यसपछि पार्टी एकता घोषणा गर्छौं, सम्भवतः एकता चैत्रको पहिलो हप्तामै हुन्छ, ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ ।’

उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाएको छ । उनले भने, ‘दुईवटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरु दुबै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं, अन्तरिम विधान लेखन सुरु गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाईरहेकाछौं, फागुन २५ गतेसम्म टुँगो लगाउँछौं ।’ विधान र प्रतिवेदन टुँगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने उनको भनाई थियो ।

रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने पनि विश्वास दिलाएको छ । उनको भनाई अनुसार आईतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने छ । रावलले भने, ‘हाम्रो चाहना भनेको अध्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ, त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं, तर उहाँ नभए पनि सरकार विस्तार हुँदैन भन्ने कुरा होईन, उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं ।’

उनले सरकारले पुर्णता पाउनेमा अब विलम्ब नहुने जिकिर समेत गरका छन् । उनले, थपे, ‘अब ढिलाई हुँदैन, किनकी बजेटको पनि तयारी गर्नुपर्छ, जेठ १५ गते बजेट ल्याउनुपर्छ ।’ उनले अर्थमन्त्रीमा नियुक्त भएका डा।युवराज खतिवडा अर्थतन्त्रसम्बन्धिका ज्ञाता भएकोले समृद्धि हाँसिल गर्ने वर्तमान सरकारको उद्देश्यमा टेवा पुग्ने विश्वास दिलाए । उनले भने, ‘एमालेमा अरु योग्य नेताहरुनै नभएर उहाँलाई नियुक्त गरेको भने होइन, अरु नेताहरुले पनि विगतमा अर्थमन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ ।’

त्यस्तै उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुँगो लागि नसकेको जिकिर गरे । रावलले भने,‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुङ्गो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुगो लाग्न बाँकी छ ।’रावलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले लोकतन्त्र र कानूनी शासन अनुसार सबै चल्नुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org