ताजा समाचार

खानीको अन्वेषण गर्न भूउपग्रह

काठमाडौँ, २३ फागुन । छ दशकदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भूउपग्रह(स्याटेलाइट)मार्फत गर्ने गृहकार्य गरिरहेको छ ।

केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल नापी, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग, नियन्त्रण विन्दु तथा भौगोलिक सूचनाको पूर्वाधारको काम गर्दैआएको छ । विभागका निर्देशक दामोदर ढकालले भूउपग्रहमा आधारित कन्टिन्युयसली अपरेटिङ रेफरेन्स स्टेशन स्थापना गर्न छलफल भइरहेको जानकारी दिनुभयो ।

उक्त स्टेशन स्थापना गर्न सकिएमा नियन्त्रण विन्दु, भूकम्पमापन र खानीको अन्वेषण गर्न ठूलो सहयोग पुग्ने बताइएको छ । स्रोत साधनको व्यवस्था भयो भने भूउपग्रह छिट्टै राख्ने विभागको योजना छ । विभागका सूचना अधिकारी अनिल मरासिनीले विसं २०१४मा स्थापित विभागले भूव्यस्थापन तथा जनसरोकारलाई प्राथमिकतामा राख्दै काम गरिरहेको उल्लेख गर्नुभयो ।
विभागले प्रमुख रुपमा सगरमाथाको मापन र सीमासम्बन्धी काम गर्दै आएको छ । विभागले जग्गा किनबेच गर्ने व्यक्ति तथा संस्थाको जग्गा नापजाँच तथा नाप नक्शा गर्ने काम दैनिक गर्दैआएको छ ।

त्यस्तै टोपोग्राफिकल नापीअन्तर्गत विभिन्न नक्शा, अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्राविधिक सहयोग र कुनको उचाइ कति भन्ने मापन हुँदैआएको छ । विभागले भौगोलिक पूर्वाधारको काम जस्तै बाटोघाटो, नहर, खोलानालासम्बन्धी सूचना संकलन, प्रशोधन, वितरण तथा भण्डारण गर्ने काम पनि गर्दै आएको छ । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org