ताजा समाचार

अन्तराष्ट्रिय महिला दिवसमा पदयात्रा

काठमाडौँ, २४ फागुन ।  एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका संघसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली मन्दिर, शहीद ढोका, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको हो । ¥यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ’ र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

सो अवसरमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले महिला हिंसा अन्त्यका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय दिवसमा यस वर्षको नारा ‘आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण’ भन्ने रहेको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरुकतासम्बन्धी दिवस हो । यो दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाइन्छ ।

यो सर्वप्रथम १९०९ फेबु्रअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org