ताजा समाचार

जयबागेश्वरी पुनःनिर्माणको सम्झौता खारेज

काठमाडौँ, २८ फागुन ।  विश्व सम्पदा सूचीमा सूचीकृत जयबागेश्वरी मन्दिरको पुनःनिर्माणका लागि दातासँग गरिएको सम्झौता पशुपति क्षेत्र विकास कोषले खारेज गरेको छ ।
भूकम्पको ३५ महिना बित्दा पनि सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण शुरु गर्न नसकेपछि कोष कार्य सम्पादन समितिको बैठकले सम्झौता खारेज गरेको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

“बैठकले दाताले दिन्छु भनेको सहयोग पनि नलिने निर्णय गरेको छ, स्थानीयवासीले पनि पुनःनिर्माण गर्न पाऊँ भनी अनुरोध गरेका छन्, अब जयबागेश्वरी पुनःनिर्माणको जिम्मेवारी कसैलाई नदिई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोग लिई कोष आफैँले गर्छ”–उहाँले भन्नुभयो ।

मन्दिर पुनःनिर्माणको जिम्मेवारी लिनुभएका दाता कल्याण शर्माले बनाउन सक्दिन सम्झौता रद्द हुनुपर्छ भनी निवेदन दिनुभएको थियो । उहाँले रु ५० लाख भने कोषलाई दिने निवेदनमा उल्लेख गर्नुभएको थियो । सम्झौता खारेजीको विषय प्राधिकरणलाई जानकारी गराइसकिएको कोषले जनाएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि कोषले एक महिना पनि नबित्दै जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक शर्मालाई सैद्धान्तिक स्वीकृति दिएको थियो । (रासस)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org