दैनिक १ केजी फोहोरबाट घरमै मासिक एक सिलिण्डर ग्यास
काठमाडौं,६ चैत । कुहिने र नकुहिने फोहोर नछुट्याइ राख्नाले संकलकलाई समेत छुट्याएर ‘ल्याण्डफिल साइट’सम्म पुर्याउन ठूलै सकस झेल्नुपर्छ।
तर अहिले प्रविधिको विकासले फोहोरलाई व्यवस्थापन गर्न मात्र नभइ आफ्नो परिवारलाई पुग्ने खाना पकाउने ग्यास घरमै उत्सर्जन समेत गर्न सकिने भएको छ।
‘अल्टरनेटिभ बायो प्लान्ट’ले कुहिने फोहोरबाट एक परिवार तथा ठूला व्यवसाय समेतलाई पुग्ने गरी घरमै बायो ग्यास उत्पादन गर्न सकिने प्रविधि निमार्ण सुरु गरेको छ।
पोखरामा रहेको यस कम्पनीले करिब डेढ वर्षअघि देखि यस्तो प्लान्टको स्थापना गरी निमार्ण परिक्षण गर्दै आएको थियो। यसैको प्रतिफल स्वरुप केहि महिनाबाट यसले व्यवसायिक उत्पादन सुरु गरेको छ।
विकसित देशहरुमा यसको व्यापक प्रयोग हुने भएता पनि नेपालमा भने हालै मात्र यस प्रविधिको निमार्ण सुरुवात सो कम्पनीले गरेको दाबी गरेको छ।
तर यसमा अन्य बायो ग्यासको जस्तो पूर्वाधार बनाउने झन्झट गर्नु नपर्ने कम्पनीले जनाएको छ। उसका अनुसार एउटा मेसिन निश्चित ठाउँमा जडान गरेर आवश्यक प्राविधिक कार्य पुरा गरेसँगै त्यसले स्वतःरुपमा ग्यास उत्सर्जन सुरु गर्नेछ।
कुहिने फोहोरबाट खाना पकाउने ग्यास उत्सर्जन गर्ने यस मेसिनलाई ‘अर्बन बायो ग्यास प्लान्ट’ नाम दिइएको छ।
यस प्लान्टको निर्माता कम्पनीसँग प्रविधि खरिद गरिएको भए पनि यसको सम्पूर्ण निमार्ण भने नेपालमै गरिने कम्पनीका प्रमूख शेशन शाक्यले बताए।
शाक्यका अनुसार मेसिनको प्रयोगले दैनिक भान्साबाट निस्कने कुहिने फोहोरबाट ग्यास उत्सर्जनका साथै अर्गानिक मल पनि उत्पादन गर्छ। यसका लागि फोहोर र पानीको मिश्रणलाई मेसिनमा हाल्नुपर्छ।
ग्यास निकाल्नको लागि मेसिनमा दैनिक एक केजी कुहिने फोहोर हाल्नुपर्ने हुन्छ। खेर गएको खाना, तरकारी, माछामासु, कुखराको हड्डी तथा सुली, फलफूलका बोक्रा लगायतका फोहोर हाल्न सकिन्छ।
‘यदि तपाईंले एक केजी फोहोर हाल्नुभयो भने सोही मात्रामा पानी हाल्नुपर्ने हुन्छ। पानी, फोहोर र ब्याक्टेरियाको समिकरणबाट मिथेन ग्यास उत्पादन हुन्छ’, शाक्यले भने।
शाक्यले ६ लिटर फोहोर र पानीको मिश्रणबाट १।६ क्युबिक मिटर ग्यास उत्सर्जन हुने बताए। यसको अनुपातलाई मासिक रुपमा हिसाब गर्दा हाल प्रयोग हुने ‘एलपि ग्यास’ १४।२ केजी भन्दा बढी उत्सर्जन हुने शाक्यको दाबी छ।
यसको प्रयोग गर्ने हो भने एउटा परिवारले एलपि सिलिण्डर किन्नुपर्ने आवश्यक्ता रहँदैन्।’ यो वातावरणमैत्री हुने भएकाले कुनै पनि वातावरणीय असर नपर्ने शाक्यले बताए।
त्यस्तै यस मेसिनमा हालिएको फोहोर र पानीले ग्यास मात्र हैन अर्गानिक मल समेत उत्पादन गर्छ।
मेसिनमा हालिएको फोहोरको प्रकृति हेरेर मासिक ५० हजार केजी मध्येबाट १० देखि १५ केजी अर्गानिक मल उत्पादन हुन्छ।
यो पुरै प्लान्टलाई ‘डाइजेस्टर’ भनिन्छ। यसलाई दुई खण्डमा विभाजित गरिएको छ। तल्लो भागमा मेसिनरी वस्तु फिट गरिएको छ भने माथिल्लोमा ग्यास च्याम्बर छ।
जति धेरै ग्यास उत्पादन हुन्छ, च्याम्बर बढ्दै जान्छ।एलपि सिलिण्डर झैं च्याम्बरमा पाइप जोडएको हुन्छ र त्यसले चुलोसम्म ग्यास पुर्याउँछ।
कम्पनीले १ र १३ क्युबिक मिटर गरी दुई वटा साइज क्षमताका मेसिन निमार्ण गर्दै आएको छ। १ क्युबिक मिटर साइजको ग्यास घरेलु प्रयोगका लागि बनाइएको हो भने १३ व्यवसायिक प्रयोजनका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।
६ जनासम्म सदस्य भएका परिवारलाई उपयुक्त हुने १ क्युबिक मिटरको मेसिनको मूल्य ६० हजार रहेको छ।
यो मेसिन खरिद गर्दा सरकारले अनुदान स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने र ग्राहकले ५० हजार रुपैयाँमा आफ्नो बनाउन सक्ने कम्पनीले जनाएको छ।
इच्छुक ग्राहकलाई एकैचोटी ५० हजार लगानी गर्न गाह्रो पर्छ भने आवश्यक्ता अनुसार शुन्य डाउनपेमेन्ट र ३ वर्षभित्रमा बुझाइसक्ने गरी मासिक १४७० रुपैयाँ तिर्ने गरि किस्ताबन्दीमा मेसिन किन्न सकिने व्यवस्था समेत कम्पनीले मिलाएको शाक्यले बताए।
१३ क्युबिक मिटर साइजले मासिक १५ वटा सिलिण्डर बराबर ग्यास उत्सर्जन गर्छ भने यसका लागि फाहोर समेत सोही अनुपातमा आवश्यक पर्छ।
दैनिक एक सय जनालाई खाना वा खाजा तयार पार्ने होटल, रेष्टुरेन्टलाई यो साइजको मेसिन उपयुक्त हुने शाक्यले बताए। यसको मूल्य ५ लाख ५० हजार रुपैयाँ रहेको छ। यसमा सरकारले २ लाख २० हजार अनुदान दिन्छ भने ग्राहकले ३ लाख ३० हजार तिर्नुपर्ने हुन्छ।
शाक्यका अनुसार दुबै साइजका मेसिनको खरिदमा डेलीभरी तथा जडान शूल्क लाग्दैन। सबै आवश्यक कागजपत्र पुरा गरेर कम्पनी स्वंयले अनुदान दिलाउने व्यवस्था गरेको छ। यसका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले अनुदान प्रदान गर्छ।
प्लान्टको आयु २५ वर्ष रहेको जनाइएको छ। यस्तै मेसिन बिग्रिएको खण्डमा ५ वर्षसम्मको वारेन्टी कम्पनीले दिएको जनाएको छ। तर ५ वर्षछि केहि बिग्रिएको खण्डमा भने शूल्क तिर्नुपर्ने हुन्छ।
यसको पहुँचको लागि काठमाडौं उपत्यका भित्र दुई वटा तथा बाहिर २१ वटा डिलर रहेका छन्।
ठूलो धनराशी ग्यास लगायतको इन्धन आयातमा खर्च भइरहेको तथा संसारबाट यो सकिँदै गएको अवस्थामा खेर जाने फोहोरबाट देशमै ग्यास उत्पादनको गर्न वायोमैत्री मेसिनको प्रयोगको अपरिहार्य रहको शाक्यले बताए।
शाक्यले नेपालमा यस प्रविधिको बारेमा पर्याप्त ज्ञान तथा उपलब्धता नहुदा प्रयोग बढ्न नसकेको दाबी गरे।
उनले विदेशी मुलुकमा इन्धनको प्रयोग घटाउन यस्ता प्रविधिलाई प्राथमिकतामा राखिएको र नेपालमा पनि सरकारले यसको प्रयोगमा प्रोत्साहन गर्न अनुदान दिएको छ। तर पर्याप्त ज्ञान र सहज उपलब्ध नहुँदा धेरै मानिस यसबारे अनविज्ञ रहेको बताए।
शाक्यले संसारबाट पेट्रोलियम पदार्थ सकिँदै गएको तथा विश्वका धेरै देशहरुमा वैकल्पिक उर्जाका रुपमा विद्युतिय साधन तथा वस्तुको प्रयोग बढाउँदै लगेको भन्दै सरकारले यसबारेमा स्पष्ट निति बनाउनुपर्ने बेला आइसकेको समेत बताए।
उनले सरकाले एलपि ग्यासमा सहुलियत बन्द गरेर वैकल्पिक उर्जा प्रवद्धनमा अनुदान बढाउनुपर्ने सुझाव दिए।
नेपाल आयल निगमको अनुसार गत आर्थिक वर्षमा १ खर्ब ५० अर्ब रुपैयाँ भन्दा बढी रकम पेट्रोलियम पदार्थको आयातमै खर्च भएको छ। यसमध्ये खाना पकाउने एलपि ग्यासको आयातमा मात्र करिब २० अर्ब रुपैयाँ बाहिरिएको थियो।
निगमको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ एलपि ग्यास आयातमा खर्च भएको छ।
इन्धन आयातको बढ्दो दरलाई कम गर्न सरकाले वैकल्पिक उर्जाको प्रयोगलााई अभियानकै रुपमा अघि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।
Comments
अरु समाचार
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...