ताजा समाचार

बिपीका भरपर्दा युवक खड्काको निधन

काठमाडौँ, १६ चैत । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ ।

मिर्गाैला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा आज निधन भएको हो । उहाँको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँगे्रसका प्रभावशाली नेता खड्का काँग्रेसका संस्थापक बिपी कोइरालाका भरपर्दा युवकका रुपमा रहनुभएको थियो ।

विसं २०३३ पुस १६ गते बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्कँदा खड्का उहाँसँगै हुनुहुन्थ्यो । निर्वासनबाट बिपीसँग गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसार्इं र युवा नेता खड्का आउनुभएको थियो ।

नेपाली काँग्रेस विभाजित भई गठित नेपाली काँग्रेस(प्रजातान्त्रिक)मा उहाँ महामन्त्रीको भूमिकामा रहनुभएको थियो । काँग्रेसको १३औँ महाधिवेशनमा उहाँ अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । दाङबाट प्रतिनिधिसभामा तीन पटक लगातार निर्वाचित भई उहाँले पटक पटक गरेर निर्माण तथा यातायात, गृह, जलस्रोत र स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org