ताजा समाचार

फर्निचर उद्योगमा आगलागी, रु बीस लाखको क्षति

राजविराज, २६ चैत  सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा रु २० लााख मूल्य बराबरको क्षति भएको छ ।

बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै छिमेकी देवनारायण साफीको एउटा घर, जीवछ साफीको तीन घर, लक्ष्मी साफीको दुई र चन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको प्रहरी चौकी बेल्हीले जनाएको छ । सो आगलागीबाट फर्निचर उद्योगमा रहेको टेबुल, कुर्सी, दराज, पलङ लगायतका समान जलेर नष्ट भएको पीडित शर्माले बताउनुभयो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, सुन, चाँदी, गरगहना र नगदसहित रु २० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org