ताजा समाचार

ठेकेदारको पैसामा सरकारी पदाधिकारीलाई विदेश भ्रमण जान रोक

काठमाडौं,१८ वैशाख । सरकारले सरकारी पदाधिकारीको विदेश भ्रमणमा अंकुश लगाएको छ । वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका नै जारी गरेर सरकारले मन्त्री, सचिवदेखि सार्वजनिक पद धारण गरेकाहरुको विदेश भ्रमणमा कडाइ गरेको हो ।

निर्देशिका अनुसार अब ठेकेदार वा परामर्शदाताको खर्चमा सरकारी पदाधिकारी विदेश जान पाउने छैनन् । निर्देशिकामा भनिएको छ, ‘सम्झौता वा ठेक्कामा सञ्चालित आयोजना वा खरिद सम्झौताको पक्ष, ठेकेदार वा परामर्शदाताको खर्चमा कुनै पनि सरकारी पदाधिकारीलाई वैदेशिक भ्रमणमा मनोनयन गरिने छैन ।’

यसले आयोजना वा खरिद सम्झौता बमोजिमको कार्य सम्पन्न गर्न वा कार्यक्रम कार्यान्वयनका लागि विशेष सिप, तालिम वा विशिष्ट ज्ञान हासिल गर्न आवश्यक भएमा नेपाल सरकारको खर्चमा भ्रमणमा जान पाउने रोक लगाउने छैन ।

निर्देशिकामा विदेश भ्रमणका लागि सिफारिस तथा मनोनयनको आधार र प्रक्रिया पनि किटान गरिएको छ । यसमा विषयको सान्दर्भिकता, विषयको विज्ञता र उपयुक्तता, कार्यसम्पदन स्तर, जेष्ठता, यसअघि वैदेशिक भ्रमणको अवसर पाएरनपाएको लगायतका विषयवस्तुलाई आधार बनाइने व्यवस्था गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org