ताजा समाचार

दुई छोरासहित आमा बेपत्ता

म्याग्दी,२१ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् ।

विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा रोहित र सात वर्षीय हेमन्त दरवाङबाट सम्पर्कविहीन भएको कल्पनाका जेठाजु हीरा पुनले बताए ।

आफन्त भएका सबै ठाउँमा खोजीकार्य गरियो, परिवारबाट खोजी गर्दा पत्ता नलागेपछि प्रहरीको सहयोग मागेका छौं,’ पुनले भने ।विगत चार वर्षदेखि दरवाङस्थित केबी एकेडेमीमा छोरालाई पढाउन आएकी कल्पनाको खोजीमा परिवारका सदस्य, आफन्त, माइती पक्षले खोजीकार्यमा सहयोग गर्न अपिल गरेका छन् ।

कल्पनाका श्रीमान् थगेन्द्र रोजगारीको सिलसिलामा यूएईमा छन् ।खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय दरवाङमा निवेदनसमेत दिइएको छ ।

परिवारका सदस्यका अनुसार जेठ १३ गते दरवाङदेखि बेनी आउँदै गरेको बसमा चढेको सूचना आफन्तले पाएका छन् । दरवाङबाट काठमाडौं जाने बसमा चढेको र बेनीमा झरेको यातायात व्यवसायीले प्रहरीलाई जानकारी गराएका छन् । बेनीबाटै कहाँ गएको भन्नेबारेमा कुनै जानकारी नभएको आफन्तको भनाइ छ ।

कल्पना छोरासँगै सम्पर्कविहीन भएपछि परिवारमा रुवाबासी चलेको छ ।

यसैबीच दुईवटा बालकसहित कल्पनालाई कसैले भेटेमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत आफन्तले अनुरोध गरेका छन् ।रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org