ताजा समाचार

चीनतर्फ निर्यात बढ्यो तर, १० महिनामा सवा ९ खर्ब व्यापार घाटा

काठमाडौं २७, जेष्ठ। चालु आर्थिक वर्षको पहिलो १० महिना (साउन-वैशाख)सम्मको अवधिमा कुल वस्तु व्यापार घाटा २२.९ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यो अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको यही अवधिमा ७.५ प्रतिशत रहेको थियो।
यो अवधिमा कुल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई ६६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा निर्यात ९.८ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारततर्फ ७.१ प्रतिशत, चीनतर्फ ८७.४ प्रतिशत र अन्य मुलुकतर्फ ७.७ प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा अलैंची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवालगायतका वस्तुको निर्यात बढेको छ भने जिआई पाईप, जुस, जुटको रस्सी, उनी गलैँचा, पस्मिनालगायतका वस्तुहरुको निर्यात घटेको छ।

यस्तै वस्तु आयात २१.९ प्रतिशतले बढेर ९ खर्ब ८५ अर्ब ८३ करोड पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आयात ३४.९ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २३.४ प्रतिशत, चीनबाट भएको आयात २२.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.२ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, एमएस विलेटलगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरी वेयर्स, सानो अलैँची, जिङ्क ईनगोटलगायतका वस्तुहरुको आयात घटेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org