ताजा समाचार

युवा संघ र वाइसिएललाई लाग्यो अंकुश, एकीकरणबाहेकका काम गर्न बन्देज

काठमाडौँ, १ असार ।  युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल) को एकीकरणका लागि दुवै संगठनका आगामी कार्यक्रम स्थगित गरिएको छ ।

दुवै संगठनका कार्यक्रम स्थगित भएपछि अब दैनिक कार्यक्रम, सांगठनिक प्रशासनिक तथा राजनीतिक गतिविधि गर्न नपाइने तर यसअघि संगठन एकीकरणका लागि पार्टीले गठन गरेको कार्यदलले भने अब संगठनका कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

पार्टीले युवा संघका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) रहेको कार्यदल गठन गरेको थियो । सोही कार्यदलले दुवै संगठनका प्रतिनिधि समेटेर नयाँ समूह गठन गर्ने र त्यसले एकीकरणका लागि थप गृहकार्य गर्ने युवा संघ नेपालका महासचिव नरेश शाहीले जानकारी दिए ।

संगठनलाई तल्लो तहदेखि नै शक्ति सन्तुलनको सिद्धान्तमा अगाडि बढाइने भएको छ । पार्टीले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने निर्णय गरेपछि देशभरका जनवर्गीय संगठनले पनि सोही विषयलाई सैद्धान्तिक तथा वैचारिक दृष्टिकोण बनाउने भएका छन् ।

तल्लो तहमा नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने, शक्ति पृथकीकरणको अभ्यास गरी कार्यविधि तयार गर्ने र युवाबीच लोकप्रिय कार्यक्रम लैजाने दुवै संगठनमा समझदारी भएको एकीकरणका लागि गठन गरिएको विधान तथा संगठन मस्यौदा समितिले जनाएको छ ।

विधान र संगठन कस्तो निर्माण गर्ने, कस्तो सांगठनिक संरचना तयार गर्ने, संगठनलाई कसरी युवामैत्री बनाउने, संगठनको विधि र प्रक्रिया के हुनेलगायत विषयमा प्रतिवेदन तयार हुने क्रममा छ । दुई पार्टी एकीकरण भएपछि जनवर्गीय संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने भनिएकाले त्यसका लागि आवश्यक समन्वय र सहकार्य भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org