ताजा समाचार

जनता आवास कार्यक्रममा बजेट अभाव, लक्षित वर्ग भनिएकाहरु चिन्तामा

तेह्रथुम, ६ असार । बजेट अभावका कारण तेह्रथुममा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणमा ढिलाइ भएको छ ।

आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित र सीमान्तकृत समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत सरकारले घर निर्माण गर्न थालिएको हो । सो कार्यक्रमअन्तर्गत जिल्लामा यो वर्ष ५० वटा घर बनाउने बताइएको छ ।

जनता आवास जिल्ला समन्वय समितिले ५० वटा घर निर्माणका लागि जिल्लाका सबै स्थानीय तहमा एक–एक वटा बस्ती छनोट गरिएको थियो । ती बस्तीबाट आवश्यक तथ्यांक संकलन गरी घर निर्माणका लागि लक्षित ४३ परिवारको छनोट समेत गरिएको थियो ।

तर मन्त्रालयले आवश्यक बजेट नपठाएकाले काम शुरु गर्न ढिलाइ भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्र खतिवडाले बताए।

भवन निर्माण डिभिजन धनकुटाले पूर्वका धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभामा जनता आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । चार जिल्लाका लागि यो वर्ष ६० लाख मात्रै बजेट आएकाले काम शुरु गर्न नसकिएको उनको भनाइ छ ।

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि छनोट भएका परिवारले प्रति परिवार रु तीन लाख ५० हजार अनुदान पाउने व्यवस्था छ । यसआधारमा तेह्रथुमको ५० परिवारका लागि मात्रै रु एक करोड ७५ लाख बजेट आवश्यक पर्छ । चार जिल्लाका लागि झण्डै रु सात करोड आवश्यक पर्छ ।

यत्तिका धेरै बजेट आवश्यक पर्नेमा रु ६० लाख मात्रै बजेट आएकाले घर निर्माणमा ढिलाइ भएको डिभिजन प्रमुख खतिवडाले जानकारी दिए । साउनबाट नयाँ आर्थिक वर्ष शुरु हुनासाथ अहिले छनोट भइसकेका घर निर्माणका लागि काम शुरु हुने उहाँको भनाइ छ ।

तेह्रथुममा जनता आवास जिल्ला समन्वय समितिले यो वर्ष ४३ वटा घर निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरिसकेको छ । जसअन्तर्गत पिप्लेको दलित बस्तीका आठ घर, जलजलको दलित बस्तीमा चार घर, छातेढुंगाको माझी बस्तीमा दुई घर, हमरजुङको दलित बस्तीमा नौ घर, मोराहाङ निंलेखु टोलमा आठ घर र सोल्मामा १२ घर बनाइने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org