ताजा समाचार

सुखीपुर नगपालिकाद्वारा रु ४४ करोड बजेट पारित

लहान, १० असार । सिरहा सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४४ करोड ६ लाख भन्दा बढीको बजेट पारित गरेको छ ।

सुखीपुर नगरपालिकाको हिजो सम्पन्न दोस्रो नगरसभाले नगरप्रमुख रामऔतार यादवले प्रस्तुत गरेका ०७५÷७६ का लागि रु ४४ करोड ६ लाख ६० हजारको बजेट सर्वसम्मतले पारित गरेको हो ।

योसँगै आगामी आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्ने सुखीपुर नगरपालिका सम्भवतः प्रदेश नं. २ मा नै सबैभन्दा पहिलो नगरसमेत बनेको हो । सखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ रु १२ करोड चार लाख ९८ हजार र पूँजीगत खर्चतर्फ रु ३२ करोड एक लाख ६२ हजार बजेट पारित गरेको नगरप्रमुख यादवले जानकारी दिए ।

आगामी बजेटलाई सुखीपुर नगरक्षेत्र भित्रको भौतिक पूर्वाधार निर्माण, शैक्षिक तथा स्वास्थ्यमा गुणस्तरीयता तथा सामाजिक विकासमा केन्द्रीत गरिने उनले बताए । यस्तै दोस्रो नगरसभाले स्थानीय तह सञ्चालन गर्न आवश्यक विभिन्न १६ वटा ऐनसमेत पारित गरेको जनाएको छ ।

मोटरसाइकल चोर पक्राउ

आफ्नै साथीको मोटरसाइकल चोरी गरेर फरार रहेका एक युवकलाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।

गत बिहीबार लहानस्थित शहीद चोकदेखि ५० मिटर उत्तरबाट चोरी भएको लहान नगरपालिका– ८ निवासी जयप्रकाश महतोको स ९ प ८५७२ नं को रातो, कालो रंग भएको २२० सिसीको पल्सर मोटरसाइकलसहित प्रहरीले महतोकै साथी लहान नगरपालिका १३ निवासी २३ वर्षीय अशेश्वरप्रसाद यादवलाई सिरहा वरियारपट्टिबाट पक्राउ गरेको हो ।

यसैगरी सोही क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको स ३ प ५२२८ नं को मोटरसाइकल समेत फेला पारेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org