ताजा समाचार

यी हुन् उपाधि होडमा रहेका १६ टिम जो प्रि क्वाटरफाइनल पुगे

यी हुन् उपाधि होडमा रहेका १६ टिम जो प्रि क्वाटरफाइनल पुगे

रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकपमा समूह चरणका सबै खेलहरु समाप्त भइसकेका छन्। कूल ४८ खेल भइसकेपछि उपाधि होडमा रहेको ३२ टिम घटेर १६ पुगेको छ।

समूह चरणमा जित मात्र नभई बराबरी र हारको नतिजाले पनि अघिल्लो चरण प्रवेशको समिकरण बदल्ने भए पनि प्रिक्वाटरफाइनलदेखि भने नकआउट चरण लागु हुनेछ। जहाँबाट जित्ने टिम उपाधि होडमा अगाडि बढ्दै जानेछ भने हार्ने टिम घर पर्कनेछ।

रसियामा विश्वकप खेल्न गएका ३२ मध्ये १६ टिमको चुनौती समूह चरणबाटै सकिएको छ र घर फर्किँदैछन्। बाँकी १६ टिम समूह चरण पार गर्दै उपाधि होडमा लम्किरहेका छन्।

साविक विजेता तथा ४ पटकको विश्वकप जितेको जर्मनी समूह चरणबाटै आउट हुनु यस विश्वकपको सबैभन्दा अप्रत्यासित नतिजा बन्यो। मेक्सिको, स्वीडेन, दक्षिण कोरिया रहेको समूहमा जर्मनी दुई खेल हार्दै समूहको पूछारमा रहँदै घर फर्कियो। यस्तै युरोपको अर्को राम्रो टिम भनिएको पोल्याण्ड पनि समूह चरणबाट अगाडि बढ्न सकेन।

सर्वाधिक ५ पटकको विजेता ब्राजिल, २ पटकको विजेता अर्जेन्टिनाले अन्तिम खेल जित्दै अन्तिम १६ मा स्थान बनाए भने आयोजक रसियासहित उरुग्वे, फ्रान्स, इंग्ल्याण्ड र बेल्जियमले समूह चरणको एक खेल अघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको थियो।

सन् १९९४ बाट रसियाको नाममा खेल्न थालेपछि आयोजक रसियाले पहिलो पटक समूह चरण पार गरेको हो।

अब शनिवारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन्। प्रिक्वाटरफाइनलमा सबैभन्दा प्रतीक्षा गरिएको खेल दुई पूर्व च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच हुनेछ। नाइजेरियासँगको अन्तिम खेलमा बराबरी वा हारको नतिजाले अर्जेन्टिना समूह चरणबाटै बाहिरिने थियो तर जित हासिल गर्दै समूह डीको उपविजेता बन्दै समूह सी को विजेता फ्रान्ससँग भेट पक्का गरेको हो।
यस्तै दुई पटकको विजेता उरुग्वे र पोर्चुगलबीचको खेल पनि हेर्न लायक हुनेछ। यी दुई खेलको विजेता क्वाटरफाइनलमै एकआपसमा भिड्नेछन्। सेमिफाइनलमा ब्राजिल र बेल्जियममध्ये एक सम्भावित अपोनेन्ट हुनेछ। ब्राजिलले प्रिक्वाटरमा मेक्सिकोसँग खेल्नेछ भने बेल्जियमले जापानसँग खेल्नेछ। यी सबै खेल एउटा पोलमा हुनेछ।

चार पूर्व विजेता रहेको यस पोलबाट एक मात्र टिम फाइनल पुग्नेछ।

अर्को पोलमा दुई पूर्व विजेता छन्, स्पेन र इंग्ल्याण्ड। स्पेनले प्रिक्वाटरमा आयोजक रसियासँग खेल्नेछ। यस्तै क्रोएसियाले डेनमार्क, स्वीडेनले स्वीट्जरल्याण्ड तथा इंग्ल्याण्डले कोलम्बियासँग खल्नेछ। यो पोलबाट एक टिम फाइनल पुग्नेछ। पूर्व विजेता स्पेन र इंग्ल्याण्डलाई यस पोलबाट उपाधिको दाबेदारको रुपमा हेरिएको छ। यस्तै समूह चरण राम्रो प्रदर्शन गरेको क्रोएसिया पनि अगाडिसम्म पुग्न सक्ने टोलीको रुपमा लिइएको छ।

प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टिम पुगेका छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टिम छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org