ताजा समाचार

चिकित्सा शिक्षा विधेयक पेश हुन सकेन, सुचना टाँस गरेर प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं १७, असार। चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले सहमतिका लागि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर सहमति नजुटेपछि बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ । कांग्रेसले विधेयक अगाडि बढाए संसद अवरोध गर्ने चेतावनी दिएपछि बैठक स्थगित गरिएको हो । यही असार २० गतेभित्र अध्यादेशको प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित नभए स्वतः अध्यादेश निष्क्रिय हुनेछ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेश गर्न लाग्न भएको विधेयक सरकारले आफूखुसी संशोधन गरेर ल्याउन लागेको भन्दै विपक्ष कांग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।

सभामुख कृष्णबहादुर महराले संसदमा विधेयक अगाडि बढाउने विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए। सत्तापक्षका सांसदहरूले विधेयक पारित गर्न समय अभाव हुने कारण देखाउँदै नियम निलम्बन आवश्यक भएको बताएका थिए। जवाफमा नेपाली कांग्रेसका नेताहरूले अध्यादेशको मुल मर्म परिवर्तन गरिएको र विधेयक पढ्न समेत नपाइएको भन्दै संसद अवरोधको चेतावनी दिएका थिए।

‘अध्यादेशमा जे विषय आधारशीला बनाइएको छ। त्यसलाई समाप्त पार्ने गरी विधेयक ल्याइएको छ’, कांग्रेस सचेतक बालकृष्ण खाँडले भने, ‘नियम निलम्बनमा हाम्रो सहमति छैन। सदनमा हामीले धारणा राखेर त्यस विपरित सभामुखले प्रस्ताव अगाडि बढाएको अवस्थामा अवरोध गर्ने भनेका होउँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org