ताजा समाचार

प्रधानमन्त्री ओलीले डा. केसीसँग टेलिफोन वार्ता गर्ने

काठमाडाैं २५, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग उनका मागका सम्बन्धमा टेलिफोन वार्ता गर्ने भएका छन् ।

नेपाल चिकित्सक संघमार्फत् प्रधानमन्त्री ओलीले जुम्लामा अनशनमा रहेका डा. केसीसँग सोमबार वार्ता गर्न लागेका हुन्। यस विषयमा तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ।

चिकित्सकको सल्लाह नमान्दा जुम्लामा अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० दिनदेखि अनशनरत डा. केसीलाई चिकित्सकले उनले आफ्नै निर्णयबाट उपचार गराउने गरेका छन्।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपपछि उनको जीवनरक्षाका लागि भन्दै स्वास्थ्य मन्त्रालयले उपचारमा खटाएका दुई चिकित्सकबाट उनले सेवा लिन अस्वीकार गरेका थिए।

सरकारले आफ्नो उपचारमा चिकित्सक पठाउनुभन्दा आफूले माग राखेको चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा जारी गरोस् भन्दै केसीले ती चिकित्सकको स्वास्थ्योपचार सल्लाह अस्वीकार गरेका थिए।

शनिबार मात्र नेपाल चिकित्सक संघ केन्द्रीय समिति काठमाडौंले खटाएका दुई विशेषज्ञ चिकित्सक जुम्ला पुगेपछि केसीलाई जुम्लाबाट काठमाडौं एयरलिफ्ट गर्नुपर्ने सुझाव दिँदा उनी आफ्नो मागमा अडिग रहेर चिकित्सकले दिएको सल्लाह मान्न तयार भएनन्।

डा. केसीको उपचारमा संलग्न चिकित्सक प्रवीण गिरीका अनुसार प्रतिष्ठानमा उपलब्ध भएसम्मका उपकरण विधिबाट उपचार भइराखेको छ। उनका अनुसार डा। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा, बोल्न सक्ने स्थितिमा समेत छैनन्।

डा. केसीका भाइ किशोर केसीका अनुसार चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा नआएसम्म केसीले अनशन नतोड्ने तर मर्न तयार हुने बताएका छन्।   डा. केसीलाई मांसपेशी सुन्निने, रिँगटा लाग्ने, छातीको धड्कन बढ्ने, पिसाब नहुनेजस्ता गम्भीर स्वास्थ्य समस्या देखिएको चिकित्सकले बताएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org